

३ बजेपछि संसद् बस्ने, गृहमन्त्रीलाई बोल्न दिने तर माग पूरा नभए एमालेले पुनः अवरोध गर्ने

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री र सभामुखसहित बसेको बैठक बिना सहमति सकिएको छ । सो बैठकमा एमालेको मागप्रति सरकारले सहमति नजानाएपछि एमालेले आज दिउँसो ३ बजे बोलाइएको बैठक सुरुमा चल्न दिने, गृहमन्त्रीलाई पनि बोल्न दिने तर माग पूरा नगरेमा पुनः अवरोध गर्ने जनाएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमतिको प्रयासस्वरुप सभामुख देवराज घिमिरे, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा संसद सुचारु गर्न छलफलमा जुटेका थिए ।
बैठकपछि एमाले सचेतक महेश बर्तौलाले सरकार एमालेलाई गलाउने र थकाउने पक्षमा देखिएको बताए ।
उनले बैठकको सुरुमा सांसद, दलका नेताले संशोधन गर्दा बैठक अवरोध नगर्ने, गृहमन्त्रीलाई पनि बोल्न दिने तर सो क्रममा आफ्नो माग संशोधन नभएर विरोध जनाउने बताए ।
उनले भने–‘हाम्रो सिम्पल कुरा छ, ३ बजेको बैठकमा देशभरका माननीयहरूले आफ्नो भनाइ राख्दा बैठक अवरोध हुँदैन, दोस्रो कुरा दलको तर्फबाट बोल्छु भनेमा पनि सबै दलका नेतालाई बोल्न दिन पनि हामी तयार छौँ । गृहमन्त्री आएर बोल्नुहुन्छ भने पनि त्यसमा हामी अवरोध गर्दैनौँ । एक डेढ घण्टाको बिचमा हाम्रो माग केही हिसाबले पूरा गर्छु भनेर सरकार आयो भने त्यसलाई सहमत भएर धन्यवाद दिएर हामी अगाडि बढ्छौँ । तर हाम्रो माग संशोधन भएन भने तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हाम्रो माग निरन्तर रहनेछ ।’
सरकारले तस्करलाई संरक्षण गरिरहेसम्म एमालेले विरोध जारी राख्ने उनले बताए ।