

कान्छी श्रीमतीको हत्या गरी श्रीमान् फरार, जेठी श्रीमती र परिवार खाेज्दै प्रहरी

काठमाडौं । इलाममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । इलामको सूर्योदय नगरपालिका-२ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबिच सामान्य झगडा भएको थियो ।
झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टिको भाग (घुच्चुक) मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ ।
राति करिब ९ बजे सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । पाँचथरको फिदिम नगरपालिका-४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमतीसहित सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । घटनापछि तामाङ फरार रहेको प्रहरीको भनाइ छ । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हत्या गरिएकी कान्छी श्रीमती भनिएपछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोजतलास भइरहेको बताइएको छ ।