सेनाका ३९ अधिकारीहरुलाई अलंकार र पदक, प्रधानसेनापति शर्माले गरे विभूषित



काठमाडौं । नेपाली सेनाका ३९ जना अधिकारीहरू अलंकार र पदकबाट विभूषित भएका छन्। २०७९ असोज ३ गते संविधान दिवसको अवसरमा भएको पूर्वघोषणाअनुसार उनीहरूलाई अलंकार र पदकले विभूषण गरिएको हो।

मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले अधिकृत २१, पदिक ६ र अन्य दर्जा १२ गरी जम्मा ३९ जनालाई अलंकार र पदक प्रदान गरेका हुन्।

कार्यक्रममा बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्कालगायत रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।

गत असोज ३ गते संविधान दिवसको अवसरमा नेपाली सेनाका २७ जनाले विभिन्न मानपदवी, २७ जनाले अलंकार र २९ जनाले पदक प्राप्त गरेका थिए।

मानपदवी प्राप्त गर्ने सकलदर्जा गत वैशाख १ गते राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट विभूषित भइसकेका छन्।