माओवादीभित्र व्यक्तिवादले व्यापक बर्चस्व जमाउन थालेको छः लालध्वज
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ (लालध्वज)ले पछिल्लो चरण माओवादी भित्र मैले पद पाए पार्टी बन्छ, नपाए बन्दैन भन्ने दृष्टिकोण विकास हुदै गएकाले यो समग्र माओवादी आन्दोलनको लागि घातक रहेको बताएका छन् ।
काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिकाको पार्टीको सहायक संगठन वाइसीएल नेपालको नगर भेला तथा मजदुर दिवस कार्यक्रममा पछिल्लो चरण माओवादी भित्र व्यक्तिवादले व्यापक बर्चस्व जमाएको बताएका छन् । उनले भने जनयुद्धको बेला पद मुख्य कुरा थिएन काम मुख्य थियो तर आज कुनै पनि पदमा आफु नहुने बित्तिकै नेतृत्व र पार्टी खतम भयो भनेर आलोचना गर्दै हिड्ने परिपाटी बन्दै गएको छ यसले पार्टीलाई सहि दिशामा पुर्याउदैन ।
‘पछिल्लो चरण नेपालमा नयाँ पार्टीहरुको उदय भएको छ यसलाई हामीले वर्षायामको खहरेखोला मात्रै सम्झे पुरानो भन्ने पार्टीका लागि ठुलो चुनौती हुनसक्छ । नयाँ दलको उदयको कारण हामी नेताहरू प्रति जनताको अविश्वासको पनि प्रतीक हो । हामी संग सयौं मुद्दाहरु छन्, कयौं मुद्दाहरु बलिदानको जगमा स्थापित पनि भइसके तर ती कामको जस माओवादीले लिन सकेको छैन कारण माओवादी भित्रको फुट र फुट पछि कार्यकर्तामा पलाएको चरम निराशाका कारण हुन’ दोङले बताए ।
वाइसीएल भेला तथा मजदुर दिवसको अवसरमा उपस्थित सयौं नेता कार्यकर्ताहरु माझ दोङले माओवादीहरु निराशा हुनुपर्ने कुनै त्यस्तो खास कारण नभएको बताए । उनले भने ‘१७,१८ जनाले सुरु गरेको जनयुद्धले आज लाखौं सक्रिय कार्यकर्ताहरु जन्माइसकेका छन् । कांग्रेस/एमालेका नेताहरूको जस्तो भ्रष्टचारको दाग माओवादी नेताहरूको अनुहारमा परेको छैन । मात्रै जनयुद्धमा देखाएका सपनाहरु सबै पूरा भएनन् भन्ने हो तर हामी त्यसका लागि निरन्तर त्यसका लागि लडिरहेका छौँ ।’
पछिल्लो चरण माओवादी नेतृत्व र पार्टी माथि चौतर्फि प्रहार हुदा पनि केही माथिल्लो स्तरका नेताहरूको मौनताले भने कार्यकर्ताहरुलाई सोच्ने बाध्य बनाएको बताए । ‘ हामी एउटै डुङ्गामा यात्रा गरिरहेका छौँ, डुङ्गा दुर्घटना भए सबै डुब्ने नै हो तर सबै प्रहारको सामना भने पार्टी अध्यक्ष एक्लैले गर्नुपर्ने जस्तो व्यबहार देखिन्छ । यसले त समग्र माओवादी आन्दोलनलाई घात गर्छ’ दोङले बताए ।
उक्त भेलाबाट वाइसीएल मण्डन देउपुर नगरपालिकाको अध्यक्षमा सन्तोष तामाङ सहित २९ जनाको कार्यसमिति निर्माण भएको छ । भेलामा काभ्रे जिल्ला संयोजक भोला अर्याल, वाइसीएल केन्द्रीय सचिव अभिलास तामाङ लगायतका नेताहरूको उपस्थिति थियो ।