नेपाल च्याम्पियन, एसिया कपका लागि छनाेट



काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधि हात पारेसँगै एसिया कपका लागि छनोट भएको छ ।

वर्षाले प्रभावित फाइनल खेलको दोस्रो दिन नेपालले पाएको ११८ रनको लक्ष्य ३०.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै नेपालले युएईलाई पराजित गर्दै प्रिमियर कपको उपाधि र एसिया कपका लागि छनोट भएको हो ।

११८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले सुरुवाती झट्का ब्यहोरे पनि गुल्सन झा र भिम सार्कीले दबाबपूर्ण खेलमा उत्कृष्ट क्रिकेट खेलेपछि जित हात पारेको हो ।

नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल ८ बलमा १ रन बनाउँदै रोहन मुस्तफाको बलमा एलबीडब्लू धरापमा पर्दा अर्का ओपनर आशिफ शेख पनि ८ रनमा आउट भए । कप्तान रोहित पौडेलले भुर्तेल आउटभएपछि नै तेस्रो नम्बरमा गुल्सनलाई मैदान पठाएका थिए । आशिफ आउट भएपछि मैदान आएका कप्तान रोहित पौडेल पनि १ रनमा आउट भएपछि भिम सार्की ब्याटिङका लागि आए ।

त्यसपछि भीम र गुल्सनले नेपालका लागि शानदार इनिङ खेले । गुल्सनले ६७ रन बनाए भने भीमले ३६ रन बनाए ।

त्यसअघि टस जितेर सोमबार बलिङ गरेको नेपालले उत्कृष्ट खेल प्रस्तुत गर्दै युएईलाई ११७ रनमा समेटेको थियो । सोमबारको खेल सकिँदा १०६ रनमा ९ विकेट हात पारेको नेपालले थप ११ रन बनाउँदा युएईको अन्तिम विकेट लिएको थियो ।

नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए । ललितले आज (मंगलबार) बाँकी रहेको युएईको एक विकेट सहित ४ विकेट हात पारेका थिए । त्यस्तै सन्दीप लामिछाने र करण केसीले २÷२ विकेट लिए । त्यस्तै सोमपाल कामी, गुल्सन झाले १÷१ विकेट लिए ।

युएईका लागि आशिफ खानले ४६ रन बनाए । उनी बाहेक युएईका ब्याट्म्यानको प्रदर्शन खासै उल्लेखनीय रहन सकेन । युएईका लागि कप्तान मुहम्मद वासिम ११ रनमा आउट हुँदा आर्यान लाक्रा १३ रनमा आउट भए । त्यस्तै बसिल हमितले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

युएईका लागि विस्फोटक र सफल मानिएका भृत्य अरविन्द ८ रनमा आउट हुँदा रमिद सहजाद १ रनमा आउट भए । त्यस्तै रोहन मुस्तफा २ रन बनाउँदै आउट भए भने आर्यन खान ५ रन बनाएर आउट भए । त्यस्तै जहुर खान पहिलो बलमै आउट भएका थिए ।

नेपालका लागि ललित राजवंशीले लगातार २ बलमा २ विकेट हात पारेका थिए ।

खेलको १६ औं ओभर जारी रहँदा पानी परेपछि खेल केहीबेर अवरुद्ध भएको थियो । त्यस्तै २७.३ ओभरको खेल चलिरहँदा युएईले ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।