

भिनाजुलाई आत्महत्या गर्न बाध्य बनाउने बैंकका सुरक्षागार्ड फरार

काठमाडौं । आफ्नै भिनाजुलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपाल इन्भेष्ट्मेन्ट मेगा बैंक कञ्चनपुर शाखाका सुरक्षागार्ड उदिप नेपाली भारत फरार भएका छन् ।
सोमबार कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा शनिबार उनी भागेर भारतको नयाँ दिल्ली पुगेका हुन् । आतबार बिहानै उनले सामाजिक सञ्जालमार्फत आफू भारतको नयाँ दिल्लीमा रहेको जानकारी साझा गरेका छन् ।
सशस्त्र प्रहरीका पूर्व हवल्दारसमेत रहेका नेपाली पक्राउ पर्ने डरले भारत भागेका हुन् । गत चैत्र ३ गते उनका भिनाजु कैलालीस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
मृत भिनाजुले आफूलाई मर्न बाध्य पारेको भन्दै उदिपसहित उदिपकी श्रीमती सीमा नेपाली, उनको दाइको छोरा मन नेपाली र मृतककी श्रीमती खिरु नेपाली र डिभिजन वन कार्यालय भजनीमा कार्यरत भिमे भन्ने भीम बिकको नाम लेखेर छाडेको सुसाइड नोट प्रहरीले फेला पारेको थियो ।
कैलालीको भजनीस्थित ईलाका प्रहरी कार्यलयमा अभियुक्तहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको छ भने हालसम्म दुईजना आरोपित पक्राउ परेका ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।