तनहुँ–१ उपचुनावः कांग्रेस र रास्वपा उम्मेदवारबीच नै मुख्य भिडन्त

जोशी र किसनको मत नै तनहुँका उम्मेदवारको भाग्य, एमाले उम्मेदवार खनाललाई अवसरवादीको आरोप !



तनहुँ । यही वैशाख १० गते हुने उपनिर्वाचनमा देशका तिनवटै निर्वाचन क्षेत्र बहुप्रतिक्षित क्षेत्रका रुपमा रहेका छन् ।

चितवन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेकै कारण उपनिर्वाचन हुन लागेको छ भने तनहुँ–१ र बारा २ मा राष्ट्रपति र उपराष्ट्रपतिका कारण ।

तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्रमा अहिले चुनावी माहौल सल्बलाएको छ । पौडेलको उत्तराधिकारीका रुपमा कांग्रेसले गोविन्द भट्टराईलाई चुनावी मैदानमा उठाएको छ भने नेकपा एमालेले तनहुँ पुख्र्यौली घर भएका र यसअघि काठमाडौंबाट चुनाव लडेर पराजय भोगेका सर्वेन्द्र खनाललाई चुनावमा अगाडि सारेको छ ।

भट्टराई तनहुँका लागि योग्य उम्मेदवार भएको कुरामा कुनै दुईमत नभएको पाइन्छ । गत निर्वाचनमा पौडेलले २५ हजार ३ सय १८ मत ल्याएर जित हात पारेका थिए । यदि यसपटक भट्टराईले सो मत सुरक्षित गरेमा उनको पल्टा भारी हुने अपेक्षा गर्न सकिन्छ ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बलिया उम्मेदवार डा. स्वर्णिम वाग्ले पनि चुनावी मैदानमा उत्रिँदा भट्टराईले सो मत सुरक्षित गर्न गाह्रो हुने अनुमान लगाउन सकिन्छ । डा. वाग्ले केही दिनअघिमात्र नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी चुनावी मैदानमा उत्रन लागेका हुन् । अहिले तुलनात्मक रुपमा तनहुँमा वाग्लेले बाजी मार्नसक्ने बलियो आधार भने कायमै छ ।

नेपाली कांग्रेसकै कार्यकर्तासमेत रहेका वाग्लेले उपनिर्वाचनमा टिकटका आश गरेका कांग्रेस नेताहरुकै पनि मौन समर्थन पाउने देखिएको छ । गत निर्वाचनमा ६८ हजार १ सय ५८ मत खसेको तनहुँमा यसपटक त्यसभन्दा कम मत खस्ने अनुमान लगाउन सकिन्छ । किनभने त्यतिबेला चुनावी माहौल रहेकै बेला कतिपय मतदाताहरु बाहिरबाट पनि आएका थिए भने अहिले उपनिर्वाचनमात्र भएका कारण बाहिरबाट मतदाता आउने क्रम केही हदसम्म कम हुन्छ ।

गत निर्वाचनमा रास्वपाका उम्मेदवार विकास सिग्देलले उक्त क्षेत्रबाट ६ हजार ३२ मत ल्याएका थिए । त्यतिबेला पार्टीको संगठन खासै राम्रो नभएको अवस्थामा त त्यति मत आएको थियो भने अहिले पार्टीको संगठनका साथै उम्मेदवार पनि बलियो भएका कारण वाग्लेलाई सहज हुने देखिएको छ । गत निर्वाचनमा पार्टी अध्यक्ष रवि लामिछाने चुनावी प्रचारमा नजाँदा खेरी पनि सिग्देलले सम्मानजनक मत ल्याएका थिए । तर, यसपटक रवि लामिछानेको आफूपछिको पहिलो प्राथमिकता तनहुँ पर्ने भएकाले रविको उपस्थिति पनि तनहुँका मतदातालाई प्रभावित पार्नसक्ने हुनसक्छ ।

त्यस्तै नेपाली कांग्रेसले कारबाही गरेका गोविन्द राज जोशीले अवश्य पनि वाग्लेलाई नै समर्थन गर्ने आंकलन गर्न सकिन्छ । मंसिरमा चुनावमा जोशीले करिब ७ हजार मत ल्याएका थिए । त्यो मत पनि स्वर्णिमलाई जाने देखिएको छ । त्यस्तै नेकपा एमालेका एकबहादुर रानाले ल्याएको १९ हजार ९ सय ४३ मत एमाले उम्मेदवार खनालले ल्याउन सक्ने आधार देखिएको छैन । उनी तनहुँकै भए पनि तनहुँलाई कहिल्यै पहिलो प्राथमिकतामा नराखेको तनहुँका जनताले बिर्सिएका छैनन् । यदि उनले तनहुँलाई पहिलो प्राथमिकतामा राखेको भए गत निर्वाचनमा नै तनहुँ जानु पथ्र्यो । एमालेका एक कर्ताकर्ता भन्छन्, ‘मंसिरमा रामचन्द्रसँग हार्छु भन्ने डरले यता नआउने अहिले फेरि माथिबाट टिकट लिएर आएरमात्र हुन्छ ?’ यसपटक कस्ले जित्ला त भन्ने प्रश्न गर्दा उनले भने, ‘यसैले जित्छ भन्ने चाहिँ छैन, बलियो प्रतिस्पर्धा छ, राना सरलाई नै दिएको भए एमालेले जित्थ्यो, तर यसपालि एमालले चाहिँ जित्दैन, खै माहौल राम्रै छ जस्तो छ स्वर्णिम वाग्लेले नै जित्छन् जस्तो लाग्छ ।’ रानाले गत निर्वाचनमा जातीय मत समेत तानेको कतिपयको अनुमान छ, त्यसैले यसपटक एमालेका खनाललाई केही हदसम्म जातीय मत कम पनि पर्नसक्ने देखिन्छ । तर, एकीकृत समाजवादीका नेता किसान श्रेष्ठसँग खनालको सामीप्यताका कारण उनले किसानको साथ पाउने स्पष्ट नै छ ।

तनहुँमा यसपटकको निर्वाचनमा एकीकृत समाजवादीका नेता किसन श्रेष्ठले समर्थन गरेको व्यक्तिले चुनाव जित्ने एक कांग्रेस कार्यकर्ता बताउँछन् । उनी भन्छन्, ‘रामचन्द्रलाई छाडेर किसन उता जानु भएको हो, उहाँको यहाँ राम्रो प्रभाव छ, शायद जोशी सर र किसन माननीयले समर्थन गरेको व्यक्तिले चुनाव जित्छ ।’

त्यसरी हेर्दा तनहुँको निर्वाचनमा गोविन्द राज जोशी र किसान श्रेष्ठ निर्णायक हुने अनुमान लगाउन सकिन्छ ।