हास्यकलाकार गजुरेलका ५ बुँदा, न्यायका लागि कानुनी बाटो खोज्ने निर्णय



काठमाडौं । बरिष्ठ हास्यकलाकार मनोज गजुरेलले अर्को पक्षविरुद्ध कानुनी उपचार खोज्ने जनाएका छन् । तीन वर्षअघि पत्नीसँग डिभोर्स गरेर एकल जीवन बिताईरहेका गजुरेलले पछिल्लो समय विवाह गर्ने घोषणा गरेसँगै पूर्वपत्नीले सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

सोही कुरालाई लक्षित गर्दै गजुरेलले सामाजिक सञ्जालमार्फत आफू न्यायका लागि कानुनी रुपमा अगाडि बढ्ने बताएका छन् । उनले आप्mनो फेसबुकमा ५ बुँदा सार्वजनिक गर्दै आप्mनो घटनाको वास्तविकता र अबका दिनमा चाल्ने कानुनी उपचारको बारेमा स्पष्ट पारेका छन् ।

गजुरेलले सामाजिक सञ्जालमा लेखेका ५ बुँदा

प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले केही प्रष्टिकरण दिन बाध्य भएको छु ।

२. सकिएको सम्बन्धको आधारहीन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवस्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेकोछु ।

३. अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छोरीको नाममा लगेको अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबुनानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आघात परिरहेको छ ।

४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुरोध गर्दछु- म र मेरा सन्तानका फोटो, नाम र प्रसङ्ग जोडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशको कानुनलाई मनन गर्नोस् जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।

५. यो पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तकको धेरै पटकको आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद 🙏