

सन्दीप र आशिफको उत्कृष्ट क्रिकेटसँगै पीएनजीविरुद्ध नेपाल ५२ रनले विजयी

काठमाडौं । पपुवान्युगिनीविरुद्ध नेपालले शानदार जित हात पार्दै सुखद सुरुवात गरेको छ ।
सन्दीप लामिछानेको शानदार ४ विकेटको मद्दतले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले पपुवान्युगिनीलाई ५२ रनले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा २९७ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
त्यसपछि ब्याटिङ गर्न आएको पीएनजीले ४७.१ ओभरमा २४५ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालको जित सम्भव भएको हो ।
नेपालका लागि आशिफ शेखले ११० रनको उत्कृष्ट पारी खेलेपछि नेपालले पीएनजीलाई कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो । त्यस्तै कुशल भुर्तेलले ४५ रन बनाए भने भिम सार्कीले ४४ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ५० रन बनाए ।
पीएनजीका लागि रिले हेकुरेले ३ विकेट लिए भने सेमो केमियाले ५ विकेट लिए ।
२९८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको पीएनजीले उत्कृष्ट सुरुवात गरे पनि विकेट पतन सुरुभएसँगै नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।
पीएनजीका लागि टोनी उराले ५० रन बनाए भने कप्तान आसाद भालाले ४२ रन बनाए । त्यस्तै पिलिङ डोरिगाले २६ रन बनाउँदा अन्त्यतिर आएका नोरमान भनौले ५९ रन बनाए भने रिले हेकुरेले २० रन बनाएर आउट भए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २ विकेट हात पारे । त्यस्तै कुशल मल्लले १ विकेट लिए । सन्दीपले ओभरमा ३७ रन दिएर ४ विकेट हात पारेका थिए ।
अब नेपालले युएईसँग अर्को खेल खेल्नेछ । जारी लिगमा सबै जितको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले सुखद् सुरुवात गरेको छ ।