महासेनानी तिम्सिना र प्रमुख सेनानी शाह पुगे सर्वोच्च

काठमाडौं – नेपाली सेनाका एक महासेनानी र प्रमुख सेनानी बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।

अनियमितता सम्बन्धी मुद्दामा कोर्ट मार्सल चलिरहेका बेला सर्वोच्च पुगेका दुई अधिकृतले दिएको निवेदनउपर न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधवार प्रारम्भिक सुनुवाइ गरिसकेको जनाइएको छ । उक्त निवेदनउपरको आदेश आउन भने बाँकी छ।

प्राड विभागका महासेनानी महेन्द्रजङ्ग शाह र प्राड विभागका प्रमुख सेनानी कुलदीप तिम्सिनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

उनीहरू सैनिक हिरासतमा छन्। उपरथी प्रेम शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएपछि महेन्द्रजङ्ग शाह र तिम्सिना पनि उक्त प्रकरणमा तानिएको नेपाली सेनाले जनाएको छ।

कोर्ट अफ इनक्वाइरीपछि आइतबारदेखि सैनिक अदालतमा सोधपुछ चलिरहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

अनिवार्य अवकाश हुनुभन्दा दुई साता पहिलादेखि बिदामा बसेका उपरथी शाही सर्वोच्च अदालतको आदेश लिएर लम्बिएको सेवामा फर्कन खोजेपछि सैनिक मुख्यालयले उनलाई नियन्त्रणमा लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *