व्यवसायीको सम्मान नहुने राष्ट्र कहिल्यै सम्वृद्ध बन्दैनः स्वामी श्री बिज्ञानन्द



ललितपुर । विश्व हिन्दु आर्थिक मञ्चका अध्यक्ष स्वामी श्री बिज्ञानन्दले व्यवसायीलाई सम्मानित नजरले नहेरिने राष्ट्र  कहिले सम्वृद्ध बन्न नसक्ने बताएका छन् । उत्पादनजस्तो सिर्जनात्मक कर्ममार्फत लाखौंलाई रोजगार सिर्जना गर्नेसँगै राज्यलाई अरब खर्ब कर तिर्ने व्यवसायीको आत्मसम्मान नहुने कुनै पनि समाज तथा राष्ट्रले सम्वृद्धिको सुखद यात्रा तय गर्न नसक्ने बताएका हुन् ।

हिन्दु आर्थिक मञ्च नेपालले बुधवार ललितपुरमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले विश्व हिन्दु आर्थिक मञ्चले विश्वभर रहेका हिन्दु व्यवसायी तथा उद्यमीलाई एक मालामा उनेर  हिन्दु समाजको आर्थिक जागरण एवं सशक्तिकरणको बहस प्रारम्भ गरेको बताए ।

उत्पादन र वितरण, नविन प्रविधिको खोज र उपयोग, युवा उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन, व्यवसायीको उचित सम्मान र समग्रमा बृहत्तर एवं रचनात्मक सोचमा कुनैपनि समाज एवं राष्ट्रको आर्थिक सफलता निर्भर रहने बहस विश्व हिन्दु आर्थिक मञ्चले चलाउदै आएको स्वामी श्री विज्ञानन्दले बताए । उनले दुबई, सिंगापुर जस्ता देश प्राकृतिक स्रोत र सम्पदाका कारण सम्वृद्ध एवं सुदृढ भएको नभई राज्यको दुरदर्शी सोचका कारण आजको स्थानमा आईपुगेको बताए ।

विश्व हिन्दु आर्थिक मञ्चमार्फत विश्वरभर छरिएर रहेका हिन्दु व्यवसायी तथा उद्यमीविचमा समन्वय, सहकार्य र समझदारीमार्फत सर्वपक्षिय आर्थिक हितको मार्गचित्रमा बारेमा छलफल चलाईँदै आएको उनको भनाई थियो ।

संसारभर छरिएर रहेका हिन्दु व्यवसायी एवं उद्यमीलाई एउटै मञ्चमा संगठित गरेर हिन्दु भाइचारा स्थापित गर्दै सवल र सदृढ अर्थतन्त्र निर्माणका सन्दर्भमा सघन रुपमा बहस चलाउने उद्देश्यका साथ मञ्चको गठन गरिएको हिन्दु आर्थिक मञ्च नेपालका अध्यक्ष प्रदिपमान वैद्यले बताए ।

नेपालमा लगानीका सम्भावित क्षेत्र, चुनौति र समाधानमा व्यवसायीहरुको भूमिकाका सन्दर्भमा कार्यक्रममा वक्ताले धारणा राखेका थिए । हिन्दु समाजलाई विश्वकै सशक्त आर्थिक रुपमा सुुदृढ समाज र समुदायका रुपमा स्थापित गर्ने मर्मका साथ स्थापना भएको विश्व हिन्दु आर्थिक मञ्चले विभिन्न मुलुकमा रहेका हिन्दु व्यवसायीलाई संगठित गर्दै आर्थिक विकास र निकासको विषयमा बहस चलाउँदै आएको छ ।

बुधवार ललितपुरमा सम्पन्न कार्यक्रममा नेपालमा उर्जा उत्पादनको सम्भावना र चुनौतिका सन्दर्भमा समेत बिषयको उठान गरिएको थियो । युवा उर्जा उद्यमी सुशिल पोखरेलले हिन्दुत्वको अर्थराजनीतिक आयामबारे धारणा राख्दै नेपालमा उर्जा उत्पादनको प्रचुर सम्भावना रहेको बताए ।

पूँजीको अभाव, भूराजनीतिक प्रभाव र पूर्वाधार मूल समस्याका रुपमा रहेको बताउँदै हिन्दु आर्थिक मञ्चमार्फत नेपालको उर्जा उत्पादनको सम्भावनालाई आम रुपमा बिश्वभरका हिन्दु व्यवसायीक समुदायका विचमा लान सकिएमा नेपालको उर्जा क्षेत्रमा लगानीलाई आकर्षित गर्न सकिने पोखरेलले बताएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरञ्जीवी नेपाल, नेपालका लागि भारतीय दुतावासका डिपुटीचिफ प्रशन्ना श्रीवास्तव, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष भवन भट्ट, नेपाल उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष प्रदिप कुमार श्रेष्ठ, पूर्ववरिष्ठ उपाध्यक्ष किशोरकुमार प्रधान, अन्तर्राष्ट्रिय सामाजिक तथा धार्मिक अभियान्ता पवन सिन्धीलगायतले बोलेका थिए ।