

अमेरिकी राजदूत राप्रपा पार्टी कार्यालयमा

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनबीच भेटवार्ता भएको छ ।
राजदूत थम्पसन धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा लिंगदेनलाई भेट्न पुगेका थिए । पूर्वपञ्चहरुको पार्टी राप्रपाले आमनिर्वाचनमा सम्मानजनक उपलब्धि हासिल गरेकोमा राजदूतले लिङ्गदेनलाई बधाई दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
सो भेटका क्रममा पार्टी अध्यक्ष लिङ्देन र राजदूत थम्पसनबीच समसामयिक विषय र दुईपक्षीय सम्बन्धको विषयमा पनि कुराकानी भएको प्रवक्ता श्रेष्ठले बताए ।
चुनावपछि राष्ट्रिय राजनीतिमा बलियो रुपमा आएको राप्रपा सरकार गठनको निर्णायक शक्ति बनेको छ । प्रतिनिधिसभामा उसको १४ सिट छ । जसका कारण यसअघि बालुवाटार,बालकोट र खुमलटारमा मात्र देखिने गरेका कूटनीतिज्ञहरुले राप्रपाका अध्यक्षलाई पनि भेट्न थालेका छन् ।
केही दिनअघि चिनियाँ कार्यवाहक राजदूतले पनि राप्रपाको पार्टी अफिसमै पुगेर लिङ्गदेनलाई भेटेका थिए ।