

कांग्रेस संसदीय दल नेताका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।
आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ । दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।
संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।
तर, पछिल्लो पटक नेता शेखर कोइराला पनि चुनाव लड्नसक्ने ठानिएको छ । कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् ।