सुडान ‘मिसन’ का लागि उडे दीपा र पुनम



काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्वसदस्यद्वय दीपा राई र पुनम जर्घामगर नेपाली सेनाको ‘मिसन’ अन्तर्गत सुडान प्रस्थान गरेका छन् । त्रिभुवन आर्मी क्लबमा आवद्ध दुबै खेलाडी सोमबार राति दक्षिण सुडान प्रस्थान गरेका थिए ।

गत असोज पहिलो साता नेपालमा सम्पन्न साफ महिला च्याम्पियनसिपबाट दुई खेलाडीले औपचारिक सन्यासको घोषणा गरेका थिए । दुई खेलाडीसँगै इन्दिरा राईले समेत राष्ट्रिय टोली त्यागेको घोषणा गरेकी थिइन् ।

रक्षक पुनम र मिडफिल्डर दीपा ‘मिसन’ मा एक वर्ष रहनेछन् । फर्किएपछि दुबैले क्लब फुटबलमा ध्यान दिने बताएका छन् । दुई खेलाडीसँगै आर्मीकी सपना लामा मिसनमा पुगेकी हुन् ।

दीपा र पुनम दुबैले सन् २०१४ पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा डेब्यु गरेका थिए । पुनमले राष्ट्रिय टोलीबाट ३९ खेल खेल्दा दीपाले ३६ खेल खेलेर एक गोल गरेकी थिइन् ।