

प्रतिनिधिसभाका समानुपातिक तर्फका ११० सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले बधाई ज्ञापन गरेका थिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् ।
समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा (एमाले) का ३४, नेपाली कांग्रेसका ३२, नेकपा (माओवादी केन्द्र) का १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच–पाँच जना निर्वाचित भएका छन् ।