पहुँचयुक्त पूर्वाधार र प्रविधिबारे मानव अधिकार आयोगमा छलफल



काठमाडौं । अपांगता भएका नागरिकहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा पहुँचयुक्त संरचनाबारे राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय अपाङग महासंघविचमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त अवसरमा अपाङगतामैत्री संरचना निर्माणको पैरवीका लागि दुवै पक्षविचमा सहकार्य गरेर अगाडि बढने प्रतिवद्वता आयोग एवं महासंघका पदाधिकारीले व्यक्त गरेका छन् ।

आइतवार राष्ट्रिय मानवअधिकार आयोगको सभाकक्षमा आयोजित पहुंचयुक्त संरचना निर्माणका लागि योजना निर्माण कार्यशालामा उनीहरुले सो प्रतिवद्वता व्यक्त गरेका हुन् । मानवअधिकारको रक्षक मानवअधिकार आयोग नै भौतिक एवं प्रविधिगत हिसावले कति अपाङ्गतामैत्री छ भन्ने विषयमा तयार गरिएको पहुंचयुक्त लेखापरीक्षण प्रतिवेदन समेत सार्वजनिक गर्दै उक्त प्रतिवेदनमा छलफल  गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघले तयार गरेको विज्ञ समूहद्वारा तयार गरिएको आयोगको केन्द्रिय कार्यालयदेखि प्रदेशतहका कार्यालहरुको भौतिक संरचना, वेवसाईट र आयोगमा प्राप्त गुनासो संयन्त्रबारेको पहुंचयुक्त लेखापरीक्षण प्रतिवेदनमाथि बुँदागत रुपमा छलफल भएको हो ।

छलफल पश्चात प्रतिवेदनमा औल्याईएका सुधारका पक्षलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने योजनाको मस्यौदा समेत तयार भएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका परियोजना संयोजक बिमल बस्नेतले बताए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आयोगको कार्यालय पहुँचयुक्त होस् भन्ने विषयमा संवेदनशिल हुँदाहुँदै पनि कहिँ कतै अपुग रहेकोतर्फ आयोग सचेत रहेको बताए ।

उनले मोटामोटी रुपमा पहुँचयुक्त रहेको र प्रतिवेदनमार्फत सतहमा आएका अन्य विषयलाई पनि नजरअन्दाज नगरी आगामी दिनमा आयोगको केन्द्रिय कार्यालयदेखि प्रदेशतहका कार्यालय र कार्यालयभित्र  प्रयोगमा आउने प्रविधिलाई  सुधार गरेर पूर्ण अपाङगतामैत्री  बनाएर लैजाने प्रतिवद्वता व्यक्त गरे । अध्यक्ष मगरले तत्कालै सुधार नगरि नहुने विषयलाई प्राथमिकता निर्धारण गर्दै आयोग क्रमिक रुपमा अगाडि बढने बताए ।

आयोगकै सदस्य डा. सूर्य प्रसाद ढुंगेलले आयोगको भौतिक एवं प्रविधिगत संरचनामाथिको लेखापरीक्षण प्रतिवेदनलाई आफुले आई ओपनरका रुपमा ग्रहण गरेको बताए । उनले धेरै विषय प्रतिवेदनले उजागर गरेको बताउँदैे सके सबै संरचना अपाङगतामैत्री हुनुपर्ने त्यसमापनि राज्यद्वारा निर्मित पूर्वाधारहरु अनिवार्य रुपमै पहुँचयुक्त हुनुपर्ने उल्लेख गरे । राष्ट्रिय मानवअधिकार आयोग पहुंचयुक्तताको सवालमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालदेखि अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर अगाडि बढ्ने सवालमा सधै उत्साहित रहने बताए ।

राष्ट्रिय अपांग महासंघका नवनिर्वाचित अध्यक्ष देवीदत्त आर्चायले नागरिकको मौलिक अधिकारको  रक्षकका रुपमा रहेको राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका नागरिकको हक अधिकार रक्षाका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमापनि महासंघ अपाङ्गता भएका नागरिकको हक अधिकार सुनिश्चित गर्ने गराउने सवालमा आयोगको रचनात्मक सहयोगको अपेक्षा गरको बताए ।

कार्यशालामा राष्ट्रिय अपांग महासंघ नेपालका प्रशासकिय व्यवस्थापक मनिष प्रसाईले पहुंचयुक्त संरचना र प्रविधिबारे आफ्नो धारणा राखेका थिए भने लेखा परीक्षण प्रतिवेदन महासंघका परियोजना संयोजक बिमल वस्नेत प्रस्तुत गरेका थिए । मानवअधिकार आयोगको वेवसाईटलगायत प्रविधिलाई कसरी पहुँचयुक्त बनाउने भन्ने विषयमा विज्ञ समूहका सदस्य खुमराज सुवेदीले सुझाव प्रस्तुत गरेका थिए ।