

नेपाली सेना चढेको गाडी दुर्घटना, १५ घाइते, २ को अवस्था गम्भीर

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका-६ स्थित राँके–रवि–भेडेटार सडकखण्डमा आइतबार दिउँसो नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी दिउँसो १२:१५ बजेतिर दुर्घटनामा परेको हो ।
अदलीबदली भएका सैनिक कर्मचारी चढेको गाडी आफै अनियन्त्रित भएर सडकबाट लगभग १५० मिटर तल झरेको प्रहरीले जनाएको छ । गाडीमा १८ जना सवार थिए । तीमध्ये १५ जना घाइते भएका हुन् ।
घाइतेहरुलाई नेपाली सेनाकै हेलिकोप्टरमार्फत उद्दार गरेर उपचारका लागि बाहिर लगिएको प्रहरीले जनाएको छ । केही घाइतेको पाँचथरमै उपचार भइरहेको एसपी राईले बताए ।