मतान्तरमा ‘रेकर्ड’ राख्दै रविले खोले संसद्को ढोका

रविले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४१६२ भोट बढी ल्याए



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अत्यधिक मतका साथ यहाँबाट निर्वाचित भएका छन्।

८४३१७ मतदाता गरेको यो क्षेत्रबाट लामिछानेले ४९२६१ भोट प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५०९९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ भोट पाए।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४१६२ भोट बढी पाएका छन्। उक्त मतान्तर यस निर्वाचनमा अहिलेसम्मको सबैभन्दा धेरै हो ।

चितवन—२ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो। यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै थियो।

यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीले यस निर्वाचनमा छैठौं जित हात पारेको छ ।