

देशभर ६१ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांकः आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको आइतबार सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मत खसेको प्रारम्भिक प्रक्षेपण गरेको छ । आयोगलाई प्राप्त विवरण अनुसार ६१ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कतिपय ठाउँको एकिन संख्या आइनसकेकाले केहि संख्या बढ्ने सक्ने बताए ।
यसअघि २०७४ सालको निर्वाचनमा ६८ प्रतिशत भोट खसेको थियो । त्यसको तुलनामा अहिलेको मतदान ८ प्रतिशत न्यून हो । यसले मतदाताहरू चुनावमा भोट हाल्न निरुत्साहित बन्दै गएको देखिएको छ ।
ती अधिकारीले भने, ‘हामी हिसाब किताब गरिरहेका रहेको छौ । प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार ६० प्रतिशत मत खसेको छ ।’
आयोगका अनुसार देशभरका १५ मतदान स्थलको मतदान स्थगित भएको छ । सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका १५ केन्द्रमा मतदान स्थगित भएको हो । विभिन्न विवादपछि ती स्थानको मतदान स्थगित भएको आयोग स्रोतले बतायो ।
यस अघि २०७४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा ६८.६६ प्रतिशत मत खसेको थियो । यस्तै २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा ७८ प्रतिशत र २०६४ सालको पहिलो संविधासभा सभा निर्वाचनमा ५४.५७ प्रतिशत मत मात्रै खसेको थियो ।
यस्तै गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६४ प्रतिशत मत खसेको थियो । यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको थियो ।