क्याप्टेनमा बढुवा भए त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास



काठमाडौं । राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य एवं नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास सेनाको सह सेनानी (क्याप्टेन) मा बढुवा भएका छन् ।

दश वर्ष अघि नेपाली सेनामा प्रवेश गरेका भरतलाई भद्रकालीस्थित सैनिक मुख्यालयमा सैनिक वायु सेवाका प्रमुख उपरथी आशिष नरसिंह राणाले एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । झण्डै डेढ दशक अघि राष्ट्रिय टोलीमा डेब्यू गरेका भरत बंगलादेशविरुद्ध अर्को महिना स्वदेशमा हुने मैत्रीपूर्ण खेलका लागि आइतबार राष्ट्रिय टोलीको प्रशिक्षणमा समेटिएका छन् ।

सहायक सेनानीबाट सेनामा प्रवेश गरेका भरत २०७२ सालमा उप सेनानीमा बढुवा भएका थिए । भरत त्रिभुवन आर्मी फुटबल क्लबको पनि कप्तान रहँदै आएका छन् ।