सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदल बैठक आज



काठमाडौं । आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ । गएको बिहीबार आज बस्ने गरी कार्यदलको बैठक टुंगिएको थियो ।

बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडमा सहयोग गर्न कार्यदल बनाइएको हो ।

बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो ।

गठबन्धन दलहरूका आ–आफ्ना अडानसहित आजको बैठकमा प्रस्तुत हुने गरी उक्त बैठक सकिएको थियो । यद्यपि, कार्यदलले अझै पनि ठोस सहमति भने जुटाउन सकेको छैन।