दृष्टिबिहिन तथा छापा अक्षर पढ्न बाधा हुनेका लागि अपाङ्गता सन्दर्भ पुस्तिका सार्वजनिक



ललितपुर । दृष्टिबिहिन तथा छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त ढाँचामा सरकारदारा प्रदान गरिने सेवा सुविधा र हक अधिकारका बारे अपाङ्गता सन्दर्भ पुस्तिका उपलब्ध गराइने वातावरण निर्माण गरिएको छ ।

बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक अनुदान र अपांगता अधिकार र विकासका लागि क्रियाशिल नेपालको आयोजनामा शुक्रवार सो अपांगता सन्दर्भ पु्स्तिका सार्वजनिक गरिएको हो ।

सो पुस्तिका सार्वजनिक भएसँगै नेपाल सरकारद्वारा उपलब्ध सेवा सुविधा पहुँचयुक्त इपव ढाँचामा निर्माण गरि आवाजयुक्त रुपमा पढ्ने अवसर दृष्टिबिहिन तथा छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका व्यक्तिहरुलाई प्राप्त भएको जनाइएको छ ।

नेपालमा करिव ४ लाख दृष्टिबिहिन तथा न्यून दृष्टियुक्त व्यक्तिहरु रहेको अनुमान गरिएको छ । ब्रेल लिपीमा पाठयपुस्तक उपलब्ध नहुँदा यस्ता व्यक्तिहरु शिक्षाको अवसरबाट बञ्चित हुने गरेका छन् । यसै कुरालाई मध्यनजर गरि अपांगता अधिकार र विकासका लागि क्रियाशिल नेपालका संस्थापक डा बीरेन्द्रराज पोखरेलले जापानबाट डेजी तथा इपब प्रविधि भित्र्याएर नेपालमा दृष्टिबिहिन व्यक्तिहरुको शिक्षामा पहुँच विस्तार गर्ने कार्य गरिरहेका छन् ।  यस प्रविधिवाट आवाज र पाठयुक्त पहुँचयुक्त पुस्तक सामाग्री निर्माण गरिन्छ । जसलाई दृष्टिबिहिन व्यक्तिहरु कम्युटर या स्मार्ट फोनको माध्यमबाट पढने गर्दछन् ।

सो प्रविधिलाई डेजी पूस्तक बाचनयन्त्रको प्रयोगबाट पनि पढन सकिन्छ । तर सो प्रविधि महंगो भएकोले सामान्य अवस्थाका दृष्टिबिहिन व्यक्तिहरुको पहुँचवाट टाढा रहेकोे छ । सरकारले त्यस्तो पहुँचयुक्त पुस्तक बाचनयन्त्रहरु उपलब्ध गराउने हो भने यस्ता बिद्यार्थीको शिक्षामा सहज पहँच हुने र सरकारले अवलम्बन गरेको समावेशी शिक्षाको लक्ष्य पुरा गर्न योगदान पुग्ने कुरा कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

बागमति प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको अपांगता सन्दर्भ पुस्तिकाले देशभरकै दृष्टिबिहिन तथा छापा अक्षर पढ्न बाधा हुने अपांगता भएका व्यक्तिहरुलाई सरकारद्वारा उपलब्ध गराईने परिचय पत्र, छात्रवृति, सामाजिक सुरक्षा भत्ता, रोजगारीमा आरक्षण, सामुदायिक पुर्नस्थापना सेवा आदिको बारेमा जानकारी प्राप्त गर्न र सो सेवा सुविधा उपभोग गर्न सहजिकरण गर्ने कुरामा आयोजकले बिश्वास लिएको बताएका छन् ।

शुक्रबार ललितपुर महानगरपालिका वडा न १० स्थित एट्मस्फेयर क्याफेमा आयोजित कार्यक्रममा सहभागीहरुले नविनतम सूचना प्रणालीको प्रयोगबाट निर्माण गरिएको पुस्तक अबलोकन गर्ने अवसर पाएका थिए ।