नमुना नगर वालिङका मेयर दिलीप खाँण पराजित, प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी



स्याङ्जा । पटकपटक उत्कृष्ट नगरपालिकाको रुपमा घोषित वालिङ नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलीपप्रताप खाँण पराजित भएका छन् । वालिङलाई नमूना नगरको रुपमा परिचित गराएर सरकारबाट विभिन्न आर्थिक वर्षमा उत्कृष्ट नगरको पुरस्कार जित्न सफल वालिङले यसपटक दिलीप खाँणलाई प्रतिस्थापन गर्दै कृष्ण खाँणलाई नगर प्रमुख चुनेको छ ।

सम्पन्न मतगणनाअनुसार मेयरमा एमालेका कृष्ण खाँण र उपेमयरमा नेपाली कांग्रेसकी कविता तिवारी गैह्रे विजयी भएकी छिन् ।

एमालेका कृष्ण खाँणले नेपाली निवर्तमान मेयरसमेत रहेका कांग्रेसका दिलीपप्रताप खाँणलाई २१८० मतान्तरले पराजित गरेका हुन् । कृष्ण खाँणले १३ हजार ७७६ मत ल्याउँदा दिलीपप्रताप खाँणले ११ हजार ५९६ मत ल्याए ।

उपमेयरमा भने कांग्रेसकी कविता तिवारी गैह्रेले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी छन् । तिवारीले १२ हजार ८२२ मत ल्याउँदा उनकी प्रतिस्पर्धी थापाले १२ हजार ३४० मत पाइन् । पराजित थापा २०७४ को चुनावमा पनि यही पदमा उम्मेदवार थिइन् ।

१४ वडामध्ये एमालेले ८ र कांग्रेसले ६ वडामा अध्यक्ष जितेको छ । एमालेबाट वडानम्बर ३ मा भीमबहादुर गुरुङ, ४ मा हरिप्रसाद खनाल, ६ मा श्यामकृष्ण श्रेष्ठ, ७  मा पाण्डुकुमार थापा, ८ मा दामोदर तिवारी, ९ मा अमृत श्रेष्ठ, १२  मा विश्वजंग गुरुङ र १३ नमलाल डुम्रे विजयी भएका छन् ।

यस्तै, कांग्रेसबाट वडानम्बर १ मा पदमराज गुरुङ, २ पोतप्रसाद लम्साल, ५ मा छवि आले, १० मा सुनील खनाल, ११ मा डण्डापानी पंगेनी र १४ मा राजु कुँवर विजयी भएका छन् ।