‘सञ्चारमाध्यमले दोभाषे प्रयोग गरी सूचना सम्प्रेषण गर्नुपर्ने’



काठमाडौं । राष्ट्रिय बहिरा महासंघ नेपालले महामारी तथा प्राकृतिक विपत्तीमा बहिरा समूदायको सबैभन्दा ठूलो समस्या भनेको सूचना तथा सञ्चार नै भएको जनाइएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीहरूले बहिरा समूदायले प्रमुख रूपमा विभिन्न महामारी तथा प्राकृतिक प्रकोपका समयमा सूचनाकै अभावमा समस्या भोग्नु पर्ने गरेको बताइएको हो ।

महासंघकी बरिष्ठ उपाध्यक्ष सत्यदेवी वाग्लेको सभापतित्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी जमुना मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका महासचिव सन्तोष केसीले आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

‘महामारी तथा प्राकृतिक प्रकोपका समयमा बहिरा समुदायको समस्या तथा जोखिम एवम् पहुँचको आवश्यकता र सरोकारवालाको भूमिका’ विषयमा प्रस्तुतीकरण दिएका केसीले बहिरा समूदायले भोग्नु परेका र भोग्नु पर्ने समस्याका बारेमा स्पष्ट पारेका थिए ।

उक्त अवसरमा बहिरा समूदायका व्यक्तिहरुले विभिन्न महामारी र प्राकृतिक प्रकोपका समयमा अभिव्यक्ति दिन नसक्दा जोखिममा जिउनु पर्ने बाध्यता समेत भोग्नुपरेको जनाइएको थियो ।

वहिराहरुको शिक्षामा ढिलो विकास हुनु, जनचेतनाको कमी हुनु, राजनीतिक क्षेत्रमा प्रभावकारी पहुँच बनाउन नसक्नु जस्ता कारणले पनि वहिरा समूदाय पछि परेको कार्यक्रममा जानकारी गराइएको थियो । यद्यपी बहिरा समूदायको क्षमता अभिवृद्धिका लागि विकासका लागि दोभाषेहरुको उत्पादन तथा तालिम दिने काम महासंघले गर्दै आएको उपाध्यक्ष बाग्लेले बताइन् ।

कार्यक्रममा विपतका बारेमा बहिरा समूदायका लागि सरकारले सूचना तथा सञ्चारलाई प्रमुख प्राथमिकता दिई नीति तथा नियमावली बनाउनुपर्ने जनाइएको थियो । कतिपय अवस्थामा उचित र स्पष्ट सूचनाकै कारण ज्यान जोखिममा परेको र ज्यानै समेत जाने अवस्था आएको पनि वाग्लेले जानकारी गराइन् ।

कार्यक्रममा बहिराहरुलाई आवश्यक सूचना पुर्याउनका लागि देशभरका प्रत्येक स्थानीय तहदेखि आमसञ्चार माध्यम र राष्ट्रिय स्तरमा समेत दोभाषेको आवश्यक रहेको कुरा औल्याइएको थियो । ५३ वटा बहिरा संघ र ७ वटै प्रदेश समितिको नेतृत्व गरिरहेको महासंघले कोरोनाका कारण कतिपय बहिरा भएका व्यक्तिहरु मानसिक समस्यामा परेको जानकारी गरायो । कोरोना महामारिका बेला कसैसँग पनि सम्पर्क हुन नसक्नु र बाहिर हिडडुल गर्ने अवस्था नहुँदा बहिराहरु मानसिक समस्यामा परेको कार्यक्रममा जानकारी गराइयो ।

कार्यक्रममा प्रमुख अतिथि मिश्रले मन्त्रालयले देशभरका अपांगता भएका व्यक्तिहरुलाई बर्गीकरण गरेर प्राथमिकता अनुसारको नीति नियम बनाउने बारेमा छलफल र कार्ययोजना बनाइरहेको बताइन् । उनले अपांगता भएका व्यक्तिहरुलाई १० किसिममा मात्र वर्गीकरण गरिए पनि त्यसअन्तर्गत अन्य प्रकारका अपांगता भएका व्यक्तिहरु रहेको पनि बताइन् । उनले सरकारले नीति निर्माणको तहमा रहेर महासंघलगायत सरोकारवालाहरुको सुझावमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रमको सभापतित्व गरेकी वाग्लेले बहिरा समूदायको प्रमुख समस्याको रुपमा सूचना तथा सञ्चारनै भएको बताउँदै सञ्चारमाध्यम र सरकारले यथासम्भव तरिकाले बहिराहरुलाई लक्षित गरि दृश्य सञ्चारमाध्यममा दोभाषेको प्रयोग गरी सूचना सम्प्रेषण गर्नुपर्ने र नेपालमा रहेका सीमित दोभाषेहरुको संख्यालाई जति सक्दो छिटो बढाउनका लागि सरकार तथा सरोकार पक्षले जोड दिनुपर्ने बताइन् ।

उनले नेपालमा अहिलेको अवस्थामा २० देखि २५ जना मात्र दोभाषे जनशक्ति रहेकोले त्यस संख्यालाई जतिसक्दो छिटो बढाउनु पर्ने माग समेत राखिन् । उक्त अवसरमा सञ्चारमाध्यमले बहिरा समूदायको हितका लागि विशेष अभियान नै चलाउनु पर्ने र महासंघले पनि त्यसका लागि पहल गर्नुपर्ने जनाइएको थियो ।

दिनेश पनेरुले सञ्चालन गरेको उक्त कार्यक्रम राष्ट्रिय बहिरा महासंघ नेपाल र ओपन सोसाइटी फाउन्डेसनको सहकार्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र रेडक्रस सोसाइटीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय बहिरा महासंघ नेपाल सन् १९९६ देखि नेपालमा बहिरा व्यक्तिहरूको अधिकारको अभियानलाई नेतृत्व गर्नको लागि कार्यरत रहेको छ । यसको स्थापना बहिराहरुको अधिकार र विकासका लागि छाता संगठनको रुपमा २०५२ सालमा भएको थियो । आठ स्थानीय बहिरा संघहरुको पहलमा गठन भएको यो महासंघमा हाल ५३ वटा स्थानीय बहिरा संघहरु आबद्द छन् । यस महासंघले आफ्नो स्थापनाकाल देखि नै बहिराहरूको हकअधिकार तथा विकासका सवालमा विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आइरहेको छ ।