हुप्सेकोटमा कोभिड अस्पताल



हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्थायी अस्पतालको गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डेले बुधबार उद्घाटन गरेकी छन ।

गाउँपालिकाले हुप्सेकोट-०१ बेलुवा स्थित कृषि उपज केन्द्रको भवनमा निर्माण गरेको १० शैया क्षमताको कोभिड अस्पतालको उदघाटन गर्दै अध्यक्ष पाण्डेले गाउँपालिका भित्रका संक्रमितको उपचारमा सहजता होस भनि अस्पताल निर्माण गरिएको जानकारी दिईन् ।

पाण्डेका अनुसार कुनै पनि लक्षण नदेखिएका र सामान्य लक्षण देखिएका संक्रमितलाई कोभिड अस्पतालमा छुट्टाछुट्टै ब्लक बनाएर राखिनेछ भने पुर्ण लक्षण देखिएका संक्रमितलाई गाउँपालिकाले सुबिधा सम्पन्न अस्पतालमा उपचारका लागि सहजीकरण गर्नेछ । पाण्डेले आफ्नो कार्यकालमा गाउँबासिको स्वास्थ्य सहजताका लागी १२ शैयाको सुबिधा सम्पन्न अस्पताल निर्माणको योजना रहेको पनि बताईन । 

कोभिड अस्पतालमा अनुभवी  स्वास्थ्यकर्मिहरु उपचारमा संलग्न हुने गाउँपालिकाले जनाएको छ । जसका लागि गाउँपालिकाले डाक्टर तथा नर्सका लागि आबेदन खुला गरिसकेको बताईएको छ । हाललाई देउराली स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार हाल गाउँपालिका भित्र ४ जना कोरोना संक्रमित रहेका छन । 

कोभिड अस्पताल उदघाटन कार्यक्रममा वडा नम्बर-०१ का वडा अध्यक्ष चित्र बहादुर कानुङ,वडा नम्बर-०३ का वडा अध्यक्ष छबिलाल मिधुन,देउरालि हुप्सेकोट खानेपानीका अध्यक्ष मेक बहादुर पुलामि, पालिकाका कर्मचारीहरु, लगाएत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।