असफल नेतृत्वकै कारण कांग्रेस भिख माग्ने अवस्थामा पुग्योः नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन नगरेर भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएकोमा नेतृत्वको कडा आलोचना गरेका छन्।

नेता पौडेलले सामाजिक सञ्जालमार्फत् सोमबार बिहानै आफ्नो धारणा सार्वजनिक गर्दै महाधिवेशन नगरेर कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएकोमा कडा आलोचना गरेका हुन्।

‘पार्टी विधानबमोजिम महाधिवेशन भएको चार वर्ष नाघिसकेको र असाधारण परिस्थिति भनेर एक वर्ष समय कटिसकेको अवस्थामा पनि महाधिवेशन गराउन नसक्नु नेतृत्वको असफलता र लापरबाही’ भएको बताउँदै पौडेलले जसरी पनि निर्धारित मितिमै महाधिवेशन गराउन माग समेत गरेका छन् ।

उनले सभापति देउवालाई संकेत गर्दै भनेका छन्, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरवाही अरू के हुन्छ? यो देशकै विडम्वना हो। सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्।’

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ तर अहिलेसम्म क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान हुन सकेका छैनन्।

सभापति देउवाले महाधिवेशनबारे छलफल गर्न साउन २८ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएका छन्। देउवाले आफू भदौ १६ मै महाधिवेशन गराउन चाहेको पटकपटक उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *