रहेन प्रहरीको जागिरमा ‘चार्म’, एसएसपीले दिए विदेश जानकै लागि राजीनामा ! 

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरुमा व्यापक वितृष्णा रहेको पछिल्लो एक घटनाले पुष्टी गरेको छ । नेपाल प्रहरीमा २२ वर्षदेखि कार्यरत एक उच्च अधिकृतले विदेश जानकै लागि राजीनामा दिएको घटना बाहिरिएसँगै प्रहरीभित्र वितृष्णा रहेको पुष्टी भएको हो ।

बुधबार मात्र नेपाल प्रहरीमा कार्यरत प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) प्रकाश रानाभाटले घरायसी कारण देखाउँदै राजीनामा दिएका छन् । उनले प्रहरी महानिरिक्षक (आईजीपी) सचिवालयमा राजीनामा बुझाएको जनाइएको छ ।

उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् । गत साउनमा ११ गते एसएसपीमा बढुवा भएका थिए । एसएसपी बढुवापछि सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटका परिवार सबै जना बेलायतमा बसोबास गर्दै आएकोले उनी पनि बेलायत जाने तयारीमा रहेको स्रोतको दाबी छ ।

उनले राजीनामा दिए पनि स्वीकृत भने भइनसकेको जनाइएको छ । राजीनामा स्वीकृतिका लागी आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

पछिल्लो यस घटनाले प्रहरी संगठनभित्र व्यापक रुपमा असन्तुष्टि रहेको पुष्टी भएको छ । एउटा उच्च दर्जामा पुगेको कर्मचारीले त आफ्नो पूरा जागिरे अवधि संगठनमा बिताउन सक्दैन भने तल्लो तहका कर्मचारीहरुको कस्तो हविगत होला ?

राज्यले यतिका वर्षसम्म दक्ष र योग्य अधिकृत बनाउन लगानी गरेको अधिकृतलाई उसको समयावधिसम्म काम गर्न सक्ने वातावरण बनाउनु राज्यको कमजोरी हो । प्रहरीमा संगठन छाड्न चाहनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ । राज्यले २४ वर्षसम्म लगानी गरेको एउटा अधिकृतले एक्कासी आएर संगठनबाट राजीनामा दिएपछि संगठनमा दक्ष कर्मचारीको अभाव पक्कै खट्किनेछ । यस किसिमको परिस्थिति सिर्जना हुन नदिनु संगठनको नेतृत्वका साथै सरकारका उच्च तहमा बसेकाहरुले सोच्नुपर्ने होइन र ?

पछिल्ला दिनमा नेपालका सुरक्षा निकायका लागि आह्वान गरिएको दरखास्तमा नगन्य मात्रामा आवेदन पर्न लागिसकेको छ । आवेदन परे पनि योग्य उम्मेदवारहरुले आवेदन नै नदिने क्रम बढ्दै गएको छ ।

देशमा रोजगारी नपाएर बेरोजगारी बढ्दै गइरहेको भन्ने तथ्यांक सार्वजनिक भए पनि सुरक्षा निकायमा माग गरिए अनुसार आवेदन पर्ने गरेका छैनन् ।

त्यसले पनि सुरक्षा निकायको जागिरप्रति वितृष्णा रहेको पुष्टी भएको छ । झन् एसएसपी रानाभाटको राजीनामाको पछिल्लो घटनाले जागिर खाइसकेकाहरुमा पनि कस्तो भावना रहेको रहेछ भन्ने स्पष्ट भएको छ ।

यसअघि पनि प्रहरीको सरुवा बढुवामा राजनीति भएको भन्दै कतिपय अधिकृतहरुले समयअगावै राजीनामा दिने गरेको नजिर देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *