पोखरा विमानस्थल: रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन



काठमाडौं – संसदीय समितिले पोखरा विमानस्थल छेउको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीवारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको गरेकाे थियाे ।

यस क्रममा देखिएका समस्याहरूको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेपछि विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्ने कार्य आउँदो ६ महिनाभित्र सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न समेत मन्त्रालयलाई निर्देशन दिएकी छिन् । उनले भनिन्, ‘आजको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकट रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गरी प्रगति विवरण समितिमा पेस गर्न निर्देशन दिने निर्णय गरियो ।’

समितिको बैठकले विमानस्थलभित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ । सभापति भट्टले भनिन्, ‘नेपाल आयल निगमको डिपो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनाभित्र काम सम्पन्न गरी समितिलाई जानकारी दिने निर्णय भयो । ’

यस्तै पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णय समेत गरेको छ । समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम समयमै सम्पन्न हुने अपेक्षा समेत गरेको छ । सबै काम छिटो भन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि सभापति भट्टले बताइन् ।

उनले भनिन्, ‘आज उठान भएका र थाल्न सुरु भएका काम अगाडि बढिराखेको छ । त्यो छिटो भन्दा छिटो सम्पन्न होस् । यी सबै विषय समाधान हुने छ भन्ने समितिले अपेक्षा र निष्कर्ष गरेको छ । अन्तमा आ–आफ्नो मन्त्रालयले गर्नुपर्ने बाँकी रहेका कार्यहरू छिटो भन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबैलाई समिति निर्देशन दिन्छ ।’