पर्यटन व्यवसायमा ‘स्टोरीटेलिङ’सम्बन्धी कार्यशाला सम्पन्न
काठमाडाैं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (NATTA) ले “नेपाली पर्यटन व्यवसायमा Storytelling” शीर्षकमा तीन-दिने कार्यशाला गोष्ठीको सफलपूर्वक सम्पन्न गरेको छ।
नेपाल पर्यटन बोर्ड (NTB) र संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) नेपालको संयुक्त पहलमा “सस्टेनेबल टुरिजम फर लाइभलिहुड रिकभरी प्रोजेक्ट” (STLRP) को सहकार्यमा आयोजित ११ घण्टाको यस कार्यशालाको प्रमुख उद्देश्य पर्यटन व्यवसायीहरूमा (Storytelling) कथावाचन – कला विकास गर्नुका साथै पुस्तान्तरणीय ज्ञान आदान-प्रदानलाई प्रोत्साहन गर्नु थियो ।
कार्यशालामा पर्यटन सम्बद्ध विज्ञ तथा वक्ताहरु, सहजीकरणकर्ता, र अन्तरक्रियात्मक सत्रहरूको समावेश गरिएको थियो, जसले सहभागीहरूलाई उक्त कला प्रति उत्प्रेरित गर्दै नेपालको पर्यटन कथा-कथनको स्तर उकास्न उल्लेखिय योगदान प्रदान गर्नेमा नाट्टाले विश्वास लिएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी र नाट्टा अध्यक्ष कुमार मणि थापालियाले उद्घाटन मन्तव्य दिँदै कथावाचनको शक्ति र यसले यात्रुहरूसँग जोडिन तथा नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदालाई उजागर गर्न सक्ने क्षमता विकासका लागी जोड दिएका थिए ।
पर्यटन विज्ञ डा. पशुपति न्यौपानेले गन्तव्य प्रवर्द्धनमा इतिहास, संस्कृति, र व्यक्तिगत कथाहरूको एकीकरणको महत्वमा प्रकाश पारेका थिए ।
यसैगरी, थाङ्का व्यवसायी एवं चित्रकार अनिल घिसिङले थाङ्का चित्रकलाका कथाहरू प्रस्तुत गर्दै सहभागीहरूको जिज्ञासालाई सम्बोधन गरे । अर्का पर्यटनकर्मी विनय शाक्यले प्रभावकारी कथावाचनको संरचना र कलाको व्यावहारिकताका बारे व्याख्या गरे भने नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक सुनिल शर्माले श्रोताहरूको ध्यानाकर्षण र प्रभावकारी सम्पर्कको लागि कथावाचन तथा यसको बजारीकरणका रणनीतिहरू प्रस्तुत गरे ।
कार्यशालामा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै सहभागीहरूलाई समूहगत रूपमा पर्यटन कार्यक्रमहरूको कथावाचन, प्रस्तुतीकरण जस्ता रचनात्मक प्रतिक्रिया समेत लिईएको थियो । पर्यटन व्यवसायीहरूलाई नेपाललाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्न कथावाचनलाई शक्तिशाली उपकरणको रूपमा प्रयोग गर्न सक्षम बनाउनेमा विश्वास लिएको छ । कार्यशाला सत्रमा नाट्टा तालिम तथा विकास समिति संयोजक श्रद्धा जोशीले सहभागीहरूको उत्साह प्रती प्रशंसा गर्दै प्रमाण पत्र वितरण गरिन् । नाट्टा महासचिव युविका भण्डारीले कार्यशालालाई कुशलतापूर्वक सहजीकरण गरेकी थिइन् भने कार्यक्रम उद्घाटन तथा समापन सत्र नाट्टाका प्रमुख कार्यकारी अधिकृत रघुनाथ विडारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कथावाचनलाई प्रवर्द्धन र सम्पर्कको माध्यमको रूपमा प्रयोग गर्ने कार्यशालाको यस पहलले नेपाललाई सांस्कृतिक र भावनात्मक रूपमा गहिरो यात्रा गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण कदम चालेको र पर्यटन उद्योगमा नवीनतम दृष्टिकोणहरूको बाटो खाल्नेमा विश्वास लिईएको छ ।