

प्रहरी सहयोगीको हत्या अभियोगमा अनुसन्धानका इन्स्पेक्टरसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टरसहित तीन जनालाई सार्वजनिक गरिएको छ ।
बारा जिल्ला प्रहरीले आज पत्रकार सम्मेलन गरेर रुम्बाको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।
गत पुस ६ गते बाराको सिमरा उपमहानगरपालिका— ११ मा रोकिराखेको बागमती प्रदेश ०१—०२८ च ७६१६ कारमा गोली हानेको अवस्थामा रुम्बा मृत भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
सिमरा विमानस्थलमा सुरक्षा गार्ड कार्यरत रुम्बाको पोष्टमार्टमको क्रममा टाउकोबाट गोलीको बुलेट भेटिएपछि गोली हानी हत्या गरिएको खुलेको थियो ।
उनको हत्यामा संलग्न तीन जनालाई प्रहरी हिजो पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका( ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जितपुर सिमरा उपमहानगरपालिका-१९ घर भई हाल सोही स्थानमा दिनेश सुवेदीको जग्गामा जय माँ इन्जियरिङ वर्कसपको सञ्चालक २७ वर्षीय पुरुषोत्तम कुमार दास र २० वर्षीय ईन्द्रजित कुमार चौहान रहेका छन् ।
उनीहरुको साथबाट रुम्बाको सुनको सिक्रि १, पर्स पनि फेला परेको थियो । साथै उनीहरूबाट एक थान मोटरसाइकल पनि बरामद भएको थियो ।
मृतक रुम्बा मृत फेला परेको कार राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत तिवारीको भएको पनि खुलेको छ ।