दक्षिण कोरियाको विमानस्थलमा विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८५ जना पुग्यो



काठमाडौं । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ८५ जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ।

जेजु एअरको उक्त विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। सो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्।

उक्त विमान रन वेबाट उछिट्टिएको थियो र देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो।

न्याश्नल फायर एजेन्सीले मृतक मध्ये ४६ जना महिला र ३९ जना पुरुषहरू रहेको जनाएको छ।

दक्षिण कोरियाको अग्नि नियन्त्रण निकायका अधिकारीहरूले अधिकांश यात्रुले ज्यान गुमाएको हुनसक्ने बताएका छन्।

केही व्यक्तिको जीवितै उद्धार गरिएको छ र उद्धार प्रयासहरू जारी रहेको एक जना अग्नि नियन्त्रकले रोएटर्स समाचार संस्थालाई भनेका छन्।

एक जना विमानस्थलका अधिकारीले विमानको पछिल्लो भागबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन्।