सरकारी खर्चमा गोवा सयरको फर्स्यौट गर्न नसकेकाहरुले निजी भ्रमणमा ‘आँखा लगाए’!



लहान । गत शुक्रबार (साउन ११ गते) लहान नगरपालिकाका मेयर महेश चौधरी केही वडाअध्यक्षसहित व्यक्तिगत खर्चमा विदेश भ्रमण निस्केका छन् ।

नगरपालिकाको असार १० गते आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याइसकेको छ । अब नयाँ सञ्चालन गर्न कर्मचारीहरुलाई केही समय लाग्ने भयो । पुरानो हिसाब फरफारक, नयाँ योजना इन्ट्री र महालेखा परिक्षणपछि नयाँ काम सुरु हुन्थ्यो । अलि-अलि फुर्सदको समय पाएपछि भ्रमणमा निस्केका हुन् ।

यता, भ्रमणलाई अतिरञ्जित बनाउन पूर्व वडाअध्यक्ष तथा जसपा नेपालका नेता राकेश गुप्तालगायतका केही व्यक्तिहरुले फेसबुक टिप्पणी गरे । तर, उनी (राकेश) आफैँ विर्से की आफु वडाअध्यक्ष हुँदा नगरपालिकाको खर्चमा भारतको गोवा शयर गरेका थिए । जसमा तत्कालिन नगरप्रमुख मुनी साहसहित जम्बो टोली थियो । नगरपालिकाको २१ लाख खर्च भयो । पछि महालेखा परिक्षकले बेरुजु ठहर्यायो । त्यतिबेला कर्मचारी लखनलाल साहको नाउँमा पेश्की लिएका थिए ।

तत्कालिन नगरप्रमुख मुनी साहसहित टोली ।

अहिलेसम्म पेश्की फर्स्याैट हुन सकेको छैन । कानूनका जानकार अनुसार यो बेरुजु फर्स्याैट हुने छैन । किनभने त्यसमा कानूनी जटिलता छ । विदेश भ्रमणमा गएपछि पराराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्थ्यो त्यो छैन । यो २१ लाख फिर्ता गर्नुपर्छ । शयर गरेकाहरु टाप छन् । कर्मचारीलाई टाउको दुखाई बनेको छ ।

लहान–१४ का रमेश यादवका अनुसार कुनै समय नगरपालिकाको पैसा उडाउने पूर्व जनप्रतिनिधिहरु अहिले मेयर चौधरीमाथि गलत लान्छना लगाउनु उचित देखिदैँन । मेयर नहुँदा पनि चौधरी यो भन्दा बढी नयाँ नयाँ ठाउँ घुम्ने व्यक्ति पर्ने उनको भनाई छ ।

विकसित देशहरु भ्रमण गरेपछि विकासको मोडल बनाउन हुटहुटी बढ्ने हिसाबले भ्रमणमा निस्केको मेयर चौधरीको भनाई छ । ‘आफु मेयर नहुँदा पनि धैरै देश र नेपालकै अधिकांश ठाउँ घुमेको छु । मेयर भएपछि अहिले घुमाई कम नै भएको छ । व्यक्तिगत खर्चमा घुम्दा पनि गलत आरोप खेप्दा दुःख लागेको छ,’उनले भने, ‘यहाँ त विपक्षी पार्टीभन्दा बढी आफ्नै पार्टीका साथीहरु विरोध लागेको देख्दा झन् दुखित बनाएको छ । होला पार्टी राजनितिमा जित-हार हुन्छ । त्यसलाई तुष राखेर हुने-नहुने कुरामा विरोध गर्नु ठिक होइन ।’ पार्टीका नेताहरुले आफ्नो स्वार्थसिद्धका लागि कार्यकर्तामा भिडन्त गराउन खोज्नु राम्रो नभएको उनको भनाई छ ।

मेयर चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनी सिरहा क्षेत्र नं. १ का पार्टी सभापति पनि छन् । उनका अनुसार कतिपय नेता कार्यकर्ताहरुको स्वार्थ पूरा गर्न नसक्दा आरोप खेप्नु परेको छ । जनताको काम र विकास निर्माणका लागि सधैंभरी लागिरहने मेयरले कतिपय व्यक्तिका व्यक्तिगत स्वार्थ पूरा गर्न नसकेको पनि प्रस्ट्याएका छन् ।

मेयर चौधरीले मुलुककै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको लहान नगरपालिकाको नेतृत्व सम्हालेदेखि लहानमा परिवर्तनको प्रसस्त लहर देखा पर्न थालेको स्थानीयबासीहरु बताउँछन् ।

विशेष गरी निम्न बर्गीय जनताको सहाराको केन्द्र बन्दै गएका मेयर चौधरीमाथि लगाइएको आरोपको स्थानीयहरुले नै गरेका छन् । उनीहरु भन्छन्, ‘मेयरले व्यक्तिगत खर्चमै कतिपय जनताको काम गर्नुहुन्छ, सरकारी पैसाले के विदेश जानुहुन्थ्यो र ?’

मेयर चौधरीले महिला, दलित र निम्नवर्गीय जनताको हितका लागि विभिन्न कार्यक्रमहरु ल्याएका अन्य नगरपालिकाहरुले पनि अनुशरण गरेका प्रशस्तै उदाहरणहरु छन् ।