लहानका १९०७ घरमा शौचालय अभाव, जग्गा नभएको बस्तीमा सामुदायिक शौचालय



लहान । सिरहा जिल्ला मधेस प्रदेशको पहिलो खुला दिसामुक्त जिल्ला हो। यसै जिल्लाको लहान नगरपालिकाको ९.३ प्रतिशत घरपरिवारमा अझै शौचालय अभाव छ। जनगणना २०७८ को नतिजाले नगरपालिका भित्रको १ हजार ९०७ घरपरिवारमा शौचालय नभएको देखाएको हो।

नतिजा अनुसार थप २ सय ९९ घरपरिवारको पनि शौचालय नरहेको देखाएको छ। नगरपालिकाको ९.५ प्रतिशत घरपरिवारले सार्वजनिक शौचालय प्रयोग गर्दै आएको तथ्याङ्क छ।

शौचालय नभएका घरधुरीहरु पहिचान गरी शौचालय बनाउने जग्गा समेत नभएको बस्तीमा सामुदायिक शौचालय निर्माण गरिने नगर प्रमुख महेश प्रसाद चौधरीले बताए । नगरपालिकाको विभिन्न वडामा यस अघि नै निर्माण गरिएको सामुदायिक शौचालयको प्रभाव राम्रो भएकाले थप बस्तीमा समेत सामुदायिक शौचालय निर्माण गरिने उनले बताए ।

वाटर एड नेपालको आर्थिक सहयोगमा सञ्चालित विकन परियोजनाले सामुदायिक शौचालयको अवधारणा विकास गरी जग्गा नभएको समुदायको लागि यस्ता शौचालय निर्माण गरेको उनले बताए ।

यस्तै ढल प्रणालीमा जडान भएको फ्लस हुने शौचालय भएको २.९ प्रतिशत अर्थात ५९७ घरपरिवार, सेप्टिक ट्याङ्क जडित फ्लस शौचालय भएको ३६.५ अर्थात ७ हजार ५१५ घरपरिवार छन् । सबैभन्दा धेरै अर्थात आधा घरपरिवारसँग खाल्डे साधारण चर्पी रहेको छ। जनगणनाको नतिजा अनुसार २० हजार ५७७ घरपरिवार मध्ये १० हजार २ सय ५९ घरपरिवारसँग साधारण किमिसको (खाल्डे चर्पी) रहेको देखाएको छ।

नगर उपप्रमुख राम चलितर महतोले नगरव्यापी समावेशी सरसफाइ योजना निर्माण भएपछि कहाँ कस्तो खालको सरसफाइ सुविधाको आवश्यक छ, सोही अनुरुप योजना कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले नगरव्यापी समावेशी सरसफाइ योजना चाँडो निर्माण हुनुपर्नेमा जोड दिए । यसका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उनको प्रतिबद्धता थियो।