त्रिविले अंग्रेजी र नेपाली भाषामा प्रश्नपत्र छाप्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र छाप्ने भएको छ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीवार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो।

त्रिविद्वारा जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ।’

यसअघि विधार्थीहरुले त्रिविमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने पर्ने माग गर्दै आएका थिए। शिक्षामन्त्री सुमना श्रेष्ठ सांसद हुँदा अंग्रेजी माध्याममा मात्रै प्रश्न सोध्दा धेरै विधार्थीहरु प्रश्न नबुझेर फेल भएको भन्दै उनले पनि नेपालीमा पनि छाप्नुपर्ने माग गर्दै आएकी थिइन्। उनले संसदमै प्रश्नपत्रसमेत बाँडेकी थिइन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *