पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी बिस्तार आवश्यक

काठमाडौं । पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी बिस्तार गर्नुपर्नेमा अर्थमन्त्री बर्षमान पुनले बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सव कार्यक्रमको आइतबार उद्घाटन गर्दै अर्थमन्त्री पुनले सो कुरा बताएका हुन् ।

हिजो लगानी गर्दा केही कमी कमजोरी भएको छ भने त्यसलाई समीक्षा गर्नु पर्ने धारणा राख्दै उहाँले कोषको बिज्ञ सञ्चालक, कोष ब्यवस्थापकले त्यसमा काम गर्ने आशा व्यक्त गरे । १२०० मेगावाटको बुढीगण्डकी जलबिद्युत आयोजनामा ३ खर्वभन्दा बढी लगानी लाग्ने भएकोले उक्त आयोजनामा कोषको सवै फण्ड परिचालन गर्दा पनि नपुग्ने देखिएको भन्दै उनले भने, ‘सरकारी प्राथमिकताका यस्ता आयोजनामा केही मात्रामा भए पनि कोषले लगानी गर्नुपर्छ । यस प्रकारका आयोजनाहरुमा लगानी गर्ने कार्यलाई समेत कोषले प्राथमिकता दिनुपर्छ ।’

१० हजार मेगावाटको विद्युत बजार सम्बन्धमा प्रधानमन्त्रीको भारत भ्रमणको समयमा सम्झौता भईसकेको बताउँदै अर्थमन्त्री पुनले भने, ‘६०० मेगावाट बिद्युत बिक्री गर्दा १६ अर्ब रुपैयाँ आएको छ भने १० हजार मेगावाट बिद्युत बिक्री गर्न सकेमा ४÷५ खर्बको बिद्युत निर्यात गर्न सकिन्छ ।’

अर्थमन्त्री पुनले सरकारले प्राथमिकताको क्षेत्र निर्धारण गरेको बताउँदै कोषले पनि त्यस्ता क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे । सेयर बजार सम्बन्धी कार्य गर्ने कोषको क्षेत्र रहेको भन्दै पछिल्लो समय सेयर बजार सुधारतर्फ जान थालेको उनले बताए । सेयर बजारको क्षेत्रमा सुधार गर्न सरोकारवालाहरुसँग सुझाव मागिसकिएको, सेयर बजारमा देखिएको अफ्ठ्यारा मापदण्डहरुलाई परिमार्जन गर्ने विषयमा छलफल भईरहेको मन्त्री पुनले बताए । यसमा रहेका नीतिगत समस्यालाई सहज बनाउदै लगिने उनको धारणा थियो ।

प्रतिस्पर्धी संस्थाहरु हुनु स्वाभाविक भएको भन्दै उनले प्रतिस्पर्धाबाटै उत्कृष्टता आउनेमा जोड दिए । एक्लै दौडेर पहिलो हुनुको खासै अर्थ नहुने भन्दै चार वटा प्रतिस्पर्धी संस्थाबीच पहिलो हुन सके मात्रै अर्थ हुने उनले बताए । उक्त अवसरमा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सुर्य बहादुर थापाले अर्थतन्त्रमा सुधार ल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडी बढ्ने कार्यमा कोष पनि सहभागी बन्दै आएको बताए ।

अर्थतन्त्रमा देखिएको दबाबलाई केही मात्रामा न्यूनिकरण गर्न लगानी परिचालन र सेवा प्रवाहको माध्यमबाट कोषले काम गरिरहेको उनको भनाइ थियो । वैंक तथा वित्तीय क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा लानेतर्फ अध्ययन गरिरहेकोमा उनले जोड दिए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले लगानीलाई विविधिकरण गर्ने, जोखिम बिश्लेषण गर्दै प्रतिफल योग्य क्षेत्रमा लगानी बिस्तार गर्ने, राज्यले प्राथमिकतामा राखेका पूर्वाधारका क्षेत्रमा लगानी बढाउनेतर्फ कोषले काम गर्ने बताए । कोषको काम कारबाहीलाई प्रविधिमैत्री बनाई सहभागीहरुलाई छिटो छरितो तरिकाले सेवा उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी कोषले आफ्नो कार्य सञ्चालन गरिरहेको बताए ।

आगामी दिनमा कोषको सेवा प्रवाहलाई डिजिटलाइज्ड गर्दै छिटो छरितो र थप प्रभावकारी सेवा प्रदान गर्ने बताए । कोषका सेयरधनीलाई उचित लाभांश र सहभागीहरुलाई उच्चतम् प्रतिफल प्राप्त हुने गरी कोषको कारोबार अगाडि बढाउने प्रतिबद्धता कार्यकारी निर्देशक कार्कीले ब्यक्त गरे ।

कार्यक्रममा कोषका पूर्व अध्यक्ष गेहन्द्र नाथ अधिकारी, नेपाल धितोपत्र बोर्डका का.वा.अध्यक्ष डा.नवराज अधिकारी, नागरिक लगानी कोष कर्मचारी युनियन र नेपाल वित्तीय संस्था कर्मचारी संघका प्रतिनिधीहरुले पनि आफ्नो धारणा राखेका थिए । सो अवसरमा अर्थमन्त्री पुनले कोषमा २० बर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक र कदर पत्र प्रदान गर्नुभयो । साथै कोषमा यस वर्ष उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कृत गरे ।

यसैगरी, समारोहमा कोषका पुर्व सञ्चालकहरुलाई सम्मान गरिएको थियो । सञ्चालक समितीका अध्यक्ष थापाले वार्षिकोत्सबका अवसरमा आयोजित गरिएको अतिरिक्त क्रियाकलापको बिजेतालाई पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *