

सुकेधारामा खुल्यो फाइभ स्टार ‘मर्क्योर होटल’

काठमाडौं । तीन अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण भएको ‘मर्क्योर होटल’ आजदेखि सञ्चालनमा आउने भएको छ । पर्यटन व्यवसायी देशबन्धु बस्नेत (अजित) ले तीन अर्ब रूपैयाँभन्दा बढी लगानीमा काठमाडौँको सुकेधारामा निर्माण गरेको पाँचतारे होटल सञ्चालनमा आउन लागेको हो ।
राजधानीको सुकेधारास्थित रिङरोडमै रहेको यस होटेल पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । कूल १०४ कोठाको होटल मर्क्युरमा ११ तला रहेका छन् । होटलको टफ फ्लोमा स्वीमिङ पुल रहेको छ । होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा उपलब्ध रहेको व्यवसायी देशबन्धु बस्नेतको भनाइ छ ।
पाँचतारे ‘मर्क्योर होटल’ को व्यवस्थापन अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुपअन्तर्गतको मर्क्योर ब्रान्डले गर्नेछ । फ्रान्सेली ब्राण्डको होटल ‘मर्क्योर’ ले हाल २२० जनालाई रोजगारी दिएको छ । एक विश्वप्रसिद्ध आतिथ्य उद्योगको अग्रणी एकोरले ११० देशहरूमा ५ हजार ५ सयभन्दा बढी होटल र १० हजारभन्दा बढी खाना तथा पेयस्थलहरू सञ्चालन गर्दै आएको छ ।
व्यवसायी बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवं वायु तथा यातायात समितिका अध्यक्ष र नेपालमा जाम्बियाको मानार्थ कन्सुलरका साथै एबी होल्डिङका अध्यक्ष समेत हुन् ।