सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम



काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ जम्मा भएको हो ।

सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जंगी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए ।

उनले विसं २०८० असार मसान्तसम्म ७१ अर्ब पाँच करोड ६१ लाख रुपैयाँ रहेकामा सो रकम वृद्धि भई पुस मसान्तसम्म कोषको कूल रकम ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ पुगेको जानकारी दिए । कल्याणकारी कार्य सोही कोषको ब्याजबाट सञ्चालन हुँदै आएको पनि उनले उल्लेख गरे ।

सैनिक कल्याणकारी कोषमा हरेक वर्ष करिब छ देखि आठ अर्ब रुपैयाँ खर्च भइरहेको जानकारी दिँदै प्रधान सेनापति शर्माले कोषमा ठूलो रकम देखिएता पनि एकै पटक रकम उपलब्ध गराउन कठिन भइरहेको बताए । प्रधानसेनापति शर्माले कोषलाई कालान्तरसम्म दिगो राख्न आयआर्जनलाई विस्तार गर्न जरुरी रहेको र यस विषयमा सरकारका सम्बद्ध निकायमा कुरा राखिएको उनले जानकारी दिए ।