सशस्त्र प्रहरीको एपिएफ क्लब पीएम कपको फाइनलमा



काठमाडौं। प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।

जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमा समेटियो। कोशीका लागि अप्सरी बेगमले ४८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाइन्।

रुविना क्षेत्रीले २६ बलमा ४ चौकासहित २२ रन बनाइन भने काजोल श्रेष्ठ ४ रनमा आउट भइन्। त्यस्तै लकिता राजवंशीले १४ तथा विमला मलहाले ६ रन बनाइन्। बलिङतर्फ एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले समान १/१ विकेट झारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको थियो। एपिएफका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन्। उनी ५० बलमा ३ चौका र १ छक्कासहित ५६ रनमा अविजित रहिन्।

सीता रानामगरले ३७ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा रन जोडिन्। रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन्। एपिएफकी कप्तान रुविना क्षेत्रीले १ विकेट लिएकी थिइन्। यो हारसँगै कोशीले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर भोलि खेल्नेछ। एलिमिनेटर खेलमा आज दिउँसो बागमती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। रासस