प्रादेशिक अस्पतालमा लहान मेयर चौधरीको ‘एक्सन’ !
पटक-पटकको गुनासोपछि आकस्मिक अनुगमन, नगरपालिकालाई गुमराहमा राखेर निर्णय नगर्न चेतावनी
लहान । लहान प्रादेशिक अस्पतालमा पटकपटक गुनासो आए पछि नगरपालिकाका मेयर महेश चौधरीले एक्सन लिएका छन् । सहज रुपमा सुविधा नपाएको स्थानीय नगरवासीले पटक–पटक गुनासो पोखेपछि अस्पताल पुगेका मेयर चौधरीले अस्पताल व्यवस्थापन समितिले लापरबाही गरेको पुष्टी भएको छ ।
अस्पताल व्यवस्थापन समितिमा नगरपालिका र जिल्ला प्रशासन कार्यालय प्रतिनिधि हुने भएता पनि अस्पतालले नगरपालिका बेवास्ता गर्दै कतिपय निर्णयहरु एकल ढंगले गरेको पाइएको छ । जसको उदाहरण अस्पताल व्यवस्थापनले नगरपालिका र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरुलाई थाहै नदिएर समितिमा कार्यरत कर्मचारीहरुलाई आफूखुशी तलब बढाएको पाइएको छ ।
अस्पताल व्यवस्थापन समितिले केही कर्मचारीहरुले यही साउन १ गतेदेखि लागू हुने गरी जनही ३ हजारको दरले तलब बढाउने निर्णय गरेको भेटिएको छ ।
उक्त अवसरमा मेयर चौधरीले सरकारी अस्पताललाई विश्वसनियताका साथै प्रभावकारी बनाउन ग्रामिण भेगको जनताहरुलाई सरकारले दिएको निः शुल्क स्वास्थ्य सेवाबाट बञ्चित नगरी छिटो र सहज रुपमा सेवा प्रदान गर्न निर्देशन दिए ।
अस्पतालले कुनैपनि निर्णय गर्दा नगरपालिकासँग समन्वय गरेर मात्र अगाडी बढ्न समेत आग्रह गरेका छन् । अस्पतालको थप सेवा विस्तारका लागि लहान नगरपालिकाबाट हुने सहयोग गर्न आफु सदैब तयार रहेको प्रमुख चौधरीको भनाई थियो ।