सशस्त्र प्रहरीमाथि ढुंगामुढा गर्ने एक पक्राउ, ३ जना अझै फरार



झापा – झापामा सशस्त्र प्रहरीमाथि ढुंगामुढा र हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा गाउँपालिका-१ स्थित रसुनगन्ज निवासी जितेन यादव रहेका छन्। घटनामा संलग्न मुख्य योजनाकार चन्द्रमोहन यादवसहित तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

डियुटीमा खटिएका सशस्त्र प्रहरी चढेको गाडीलाई लक्षित गरी यादवसहित चार जनाको समूहले करिब एक महिनाअघि ढुंगामुडा गर्दै हातहतियार खोस्ने प्रयास गरेका थिए।

त्यसपछि सशस्त्रले उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा यादवलाई शनिबार पक्राउ गरेको र चन्द्रमोहन लगायत तीन जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रहरीले यादवविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाका बारेमा थप अनुसन्धान गरिरहेको डीएसपी रिजालले बताए।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट टाघनडुब्बाले झापा-१ रसुनगन्जस्थित नेपाल भारत सीमा नजिकबाट गत असार ३० गते अन्दाजी राती ८ बजेको समयमा भारत लैजाँदै गरेको १६८ बोतल मदिरा बरामद गरेको थियो।

सो मदिरा स्थानीय चन्द्रमोहनले मे २ प ७७६६ नम्बरको मोटरसाइकलमा हालेर भारततर्फ लगिरहेका थिए।

सशस्त्रले मदिरा बरामद गरेपछि चन्द्रमोहनले घरका अन्य सदस्यहरूलाई घटनास्थलमा बोलाएर सशस्त्र चढेको गाडीमा ढुंगामुढा गरेका थिए।

गाडी रोकेपछि उनीहरूले सशस्त्रमाथि अभद्र व्यवहार गर्दै हातहतियार समेत खोस्ने प्रयास गरेका थिए। सोही क्रममा दुवै पक्षबीच विवाद भएको थियो।

यो घटना घटेको केही समय पनि चन्द्रमोहनले झापा बजारबाट मोटरसाइकलमा मदिरा बोकेर लसुनातर्फ जाँदै गर्दा बाटोमै सशस्त्र प्रहरीले उनलाई छेक्न खोजेका थिए।

सशस्त्र देखेपछि चन्द्रमोहन झापा बजारतर्फ भागेका थिए। सशस्त्रले उनलाई पछ्याउने क्रममा स्थानीय व्यवसायी र सशस्त्र प्रहरीबीच विवाद समेत भएको थियो।

सोही विवादमा स्थानीय व्यापारीले एक दिन झापा बजार समेत बन्द गरेका थिए। भारतको बिहार राज्यमा मदिरा पूर्ण रुपमा प्रतिबन्ध छ। त्यसैले झापाका विभिन्न नाकाबाट मदिरा जन्य पदार्थ चोरी तस्करीको माध्यमबाट विहार लगिन्छ।