सशस्त्रले यसरी निकाले सुनकोशीमा खसेर वेपत्ता गाडी र दुईको शव, नवलपुरका भुर्तेलको शव अझै भेटिएन



सिन्धुली । सन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर वेपत्ता सीटीईभीटीका कर्मचारी चढेकोे गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोरले मंगलबार फेला पारेको छ । एक जना भने अझै वेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोरले गाडी भेटाएर नदीबाट बाहिर निकालेका हुन ।

मंगलबार भेटिएकाहरुमा शव तनहुँ जिल्लाको भानु नगरपालिका ९ बस्ने सीटीईभीटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण के.सी. र इलाम जिल्लाको सूर्योदय नगरपालिका ५ बस्ने ३२ वर्षीय विद्युत प्रशिक्षक भानु पौडेलको हो । पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका ७ बस्ने योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै वेपत्ता छन् ।

सो दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण सिनामंगल काठमाडौं र उक्त तालिम शिक्षालयबाट गोताखोर टोली खोजीकार्यको लागि खटिएको थियो ।

प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ (इम्बोस्ड नम्बर बीएबी ७४६७) को स्कार्पियो गाडी जेठ १९ गते शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा घुर्मी–खुर्कोट सडकखण्ड अन्तर्गत सो ठाउँमा सुनकोशी नदीमा खसेको थियो । दुर्घटना पश्चात गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैं पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए ।