डा. कोइरालालाई १ लाख ११ हजार राशीको ‘डा. सुदीप अर्याल सामाजिक रूपान्तरण पुरस्कार’



काठमाडौं । ‘डा. सुदीप अर्याल सामाजिक रूपान्तरण पुरस्कार–२०७९’ बाट बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई  सम्मानित गरिएको छ । डा. कोइरालालाई राजधानीमा आयोजित एक समारोहकाबीच एक लाख ११ हजार १११ नगद राशिसहितको उक्त पुरस्कार समर्पण गरिएको हो ।

डा. सुदीप अर्यालका मातापिता सरस्वती अर्याल र पूर्णप्रसाद अर्यालले डाक्टर छोराको स्मृतिमा पुरस्कार कोषको स्थापना गर्दै पहिलोपटक सो पुरस्कार डा. कोइरालालाई प्रदान गरेका हुन् ।

आइतबार अपराह्न काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार भुवनहरि सिग्देलले डा. कोइरालालाई प्रमाणपत्र तथा नगद राशि प्रदान गरे । सो अवसरमा डा. कोइरालालाई दोसल्ला ओढाई सम्मानित गरियो ।

सोही समारोहमा डा. सुदीप अर्यालद्वारा लिखित उपन्यास ‘क्रान्ति’को पनि लोकार्पण गरियो ।

कार्यक्रममा प्रमुख अतिथि कवि साहित्यकार भुवनहरि सिग्देलले डा. सुदीप यो धरामा सशरीर नभए पनि उनी उपन्यास ‘क्रान्ति’मा जीवित रहेको, उनको नामको पुरस्कारमा जीवित रहेको बताए । उनले भने, ‘डा. सुदीपले यस उपन्यासमा नयाँ प्रयोग गरेका छन् । यस उपन्यासबाट धेरै कुरा सिक्न मिल्छ ।’

पुरस्कृत व्यक्तित्व डा. भगवान कोइरालाले एक आपसमा मिलेर गएमा समाज रूपान्तरणका लागि धेरै गर्न सकिने बताए । सामाजिक काम गर्दै जाँदा त्यसले सार्थक स्वरूप लिने उल्लेख गर्दै उनले डा. सुदीपको स्मृतिमा असल काम थालिएको बताए ।

साहित्यकार प्रतीक ढकालले आफू जानुपूर्व डा. सुदीपले ‘क्रान्ति’मा युवाहरूको कथा अमर कृतिका रूपमा छोडेर गएको बताए । मन्तव्यका क्रममा उनले पुरस्कृत व्यक्ति डा. कोइराला र उपन्यास ‘क्रान्ति’का बारेमा पनि बोले ।

कार्यक्रममा समालोचक महेश पौडेलले डा. सुदीप अक्षरहरूमा सधैँ जीवित रहिरहने उल्लेख गर्दै डा. सुदीपको उपन्यासमा आजको समाजको मनोविज्ञान बोलेको बताए ।

कार्यक्रममा डा. सुदीपका गुरु प्रा.डा. विद्यादेव शर्मा, उपन्यासको प्रमुख पात्रका रूपमा रहेकी रिङ्कु वाग्ले, उपन्यासका प्रकाशन संस्था पेज टर्नरका भरत पौडेल र भवानी खतिवडाले बोलेका थिए ।

पेज टर्नर र पर्वतीय साहित्य समाजद्वारा आयोजित कार्यक्रममा डा. सुदीपकी माता सरस्वती अर्यालले उपन्यासमा लेखेको मन्तव्य वाचन गरेर सुनाइएको थियो ।