सन्दीपलाई खेल्नकै लागि युएई जानबाट बञ्चित नगर्न सर्वोच्चसँग क्रिकेटप्रेमीको माग

काठमाडाैं । सन्दीप लामिछानेले राजधानीमा जारी आईसीसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली क्रिकेटप्रेमीहरु उत्साहित बनेका छन् ।

स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजमा सन्दीपले अहिलेसम्म ३ खेलमा ९ महत्वपूर्ण विकेट लिइसकेका छन् । यसबाट सन्दीपको क्रिकेटमा पुनरागमन देखिइसकेको छ । उत्कृष्ट प्रदर्शन गरिरहेका बेला सन्दीप युएईमा हुने युएई र पपुवान्युगिनीसँगको क्रिकोणात्मक सिरिजका लागि जाने टिममा नपरेपछि भने क्रिकेटप्रेमीहरु निराश बनेका छन् ।

जारी सिरिजमा नेपाली टिमको सर्वाधिक सफल बलरका रुपमा देखिएका सन्दीप अदालतको आदेशका कारण युएई जान नपाउनुले क्रिकेटप्रेमी निराश बनेका हुन् । हुनत, त्यसका लागि सन्दीपले विदेशी भूमिमा क्रिकेट खेल्न पाउनुपर्छ भन्दै सर्वोच्च अदालतमा सोमबार निवेदन दर्ता गरिसकेका छन् र सर्वोच्चले १२ गतेका लागि पेसी समेत तोकिसकेको छ ।

क्रिकेटप्रेमीहरुले युएई जाने टिममा सन्दीपलाई पनि समावेश गर्नुपर्ने माग गरिरहेका छन् । ‘नेपाल र नेपाली क्रिकेटको उज्जवल भविष्यका लागि सर्वोच्चले विवेक पुर्याउनेमा आशावादी छौं, यति फर्ममा भएको खेलाडीलाई खेल्नबाट बञ्चित गर्न हुँदैन,’ क्रिकेटप्रेमी निरन पाण्डे भन्छन् । उनले नेपाली क्रिकेटको भविष्यका लागि सर्वोच्चले सन्दीपलाई खेल्नका लागि युएईबाट रोक्न नहुने बताउँदै परिआए क्रिकेटप्रेमीहरुले सर्वोच्च अगाडि सन्दीपका लागि प्रदर्शनसमेत गर्ने बताए । उनले भने, ‘फर्ममा रहेका खेलाडीलाई खेल्न नदिएर नेपाली क्रिकेटको सुखद् भविष्यको कल्पना गर्नु मुर्खताशिवाय केही हुँदैन, त्यसैले जसरी पनि सन्दीप युएई जान पाउनुपर्छ ।’

त्यसका लागि आवश्यक परेमा दबाब दिनसमेत पछि पर्न नहुने उनले बताए । ‘हुन त, सर्वोच्चले देशको अहित हुने आदेश पक्कै पनि दिँदैन, त्यही पनि केही मिडियाले सन्दीपप्रति खेदो खनेकोले के हो यसै भन्न सकिन्न,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालले जारी प्रतियोगिताको तेस्रो खेलमा जित हात पारेसँगै नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै पुरस्कृत गर्ने समेत बताएका बेला उत्कृष्ट प्रदर्शन गरेका टिमका सबैभन्दा महत्वपूर्ण सदस्यलाई खेल्नबाटै बञ्चित गर्न नहुने अर्का क्रिकेटप्रेमी रिसभ घिमिरेले बताए । उनले भने, ‘सरकारले पुरस्कृत गर्ने भन्ने अनि अदालतले खेल्नै नदिने भन्ने पनि हुन्छ ? अब सर्वोच्चले सन्दीपप्रति पक्कै न्याय गर्छ जसले गर्दा १३ गते युएई जाने टिममा सन्दीप पनि पर्छन् ।’

नेपालले राजधानीमा जारी प्रतियोगितामा तीन खेलमा शतप्रतिशत जित हात पारेको छ । तीन वटै खेलमा पूर्वकप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ३ खेलमा ९ विकेट हात पारिसकेका छन् । नेपालले भोली (मंगलबार) स्कटल्याण्डसँग खेल्दैछ । उच्च मनोबलसहित नेपाल मैदानमा उत्रँदा स्कटल्याण्डले लिग २ को उपाधि हात पारिसकेको छ ।

आगामी साता युएई र पपुवान्युगिनीविरुद्ध खेल्नका लागि नेपाली टिम युएई जाँदैछ । हरेक खेल महत्वपूर्ण रहेको नेपालका लागि स्टार क्रिकेटर सन्दीप लामिछाने युएई जाने टोलीमा समावेश भएका छैनन् । उनलाई अदालतले विदेशी भूमिमा क्रिकेट खेल्नका लागि प्रतिबन्ध लगाएका कारण उनी टिममा नपरेका हुन् । तर पछिल्ला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई जसरी पनि युएई जाने टिममा समावेश गर्नुपर्ने माग नेपाली क्रिकेट प्रेमीहरुले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *