

सन्दीप गए विदेशी भूमिमा खेल्न पाउनुपर्ने माग गर्दै सर्वोच्च, १२ गते पेसी

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन गरेका हुन् ।
काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छाडेका थिए । तर, उनलाई विदेश जान अदालतले रोक लगाएको छ । यसविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।
अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ ।
नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले सन्दीप सो टीममा रहने छैनन् । तर, यदि १२ गते सर्वोच्चको पेसीले उक्त रोक फुकुवा गरिदियो भने सन्दीपलाई यूएई जान बाटो खुल्नेछ ।
उनी नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य हुन् । हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । क्रिकेट समर्थकहरूले सन्दीपलाई विदेशमा खेल्ने वातावरण बनाउन अदालत र क्यानसँग माग गर्दै आएका छन् ।