

डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो, सबै स्वास्थ्य ‘पारामिटर’ सामान्य

काठमाडौं । ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ ।
गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ ।
भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले बताए ।
गत बुधबार राति आफ्नै निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएको थिए । घटनालगत्तै उनीहरु दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो ।
आमा हरिकलाको भने उपचारकै क्रममा बिहीबार बिहान निधन भएको थियो ।
नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो । रासस