मन्त्री मोदीले गरे निजामती ऐनबारे प्रशासन महाशाखाका प्रमुखसँग छलफल



काठमाडौं । संघीय मामिला तथा सामान्य मन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनको विषयमा सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा मन्त्री मोदीले आज (बिहीबार) छलफल गरेका हुन् ।

छलफलमा क्रममा प्रशासन महाशाखामा प्रमुखहरुले निजामती ऐनमा छड्के प्रवेश, श्रेणीगत वा तहगत व्यवस्था, आरक्षण लगायतका सन्दर्भमा राय राखेका थिए । सेवामा रहेका निजामती कर्मचारीहरुलाई अन्यायमा पर्नेगरी ऐन नल्याउन महाशाखाका प्रमुखहरुले सुझाव दिएका थिए ।

छलफलका क्रमा सुझावसहित विज्ञका रुपमा प्रस्तुती राखेका जनप्रशासन क्याम्पस, त्रिभुवन विश्वविद्यायका सह प्राध्यापक डा. नरेन्द्रराज पौडेलले कर्मचारी क्षेत्रमा नैतिकताको खडेरी भएको बताए । ‘नेपालमा नैतिकताको धरातल निकै कमजोर छ, कर्मचारी क्षेत्रमा नैतिकताको खडेरी नै छ,’ उनको सुझाव थियो, ‘कर्मचारीलाई कसरी नैतिकताको कसीमा बाँध्ने हो, अन्तर्राष्ट्रिय अभ्यास समेत हेरेर ऐनमा केही व्यवस्था राखौँ ।’

मन्त्रालयका सचिव कृष्णहरी पुस्करले छलफलमा प्राप्त सकारात्मक सुझावहरुलाई मन्त्रालयले ग्रहण गर्ने बताए ।

मन्त्री मोदीले भावी पुस्ताको भविष्यसँग मुलुक र जनताको हितलाई केन्द्रमा राखेर ऐन ल्याउने तयारी भइरहेको बताए । देश र जनतालाई सम्झेर सुझाव दिन मन्त्री मोदीले छलफलका सहभागीहरुलाई आग्रह गरे ।

ऐनको विषयमा बाहिर सकारात्मक माहौल बनाउन भूमिका निर्वाह गर्न समेत मन्त्री मोदीले निर्देशन दिए । ‘तपाईहरु यो समाजको अब्बल र बौद्धिक मान्छे हुनुहुन्छ, ऐनको सन्दर्भमा बाहिर सकारात्मक वातावरण निर्माण गर्ने दायित्व तपाईहरुको पनि हो, तपाईहरुबाट म यो भूमिकाको अपेक्षा गर्न चाहन्छु,  मन्त्री मोदीले भने ।

सकारात्मक परिणामका लागि क्रियाशीलता बढाइराखेका मन्त्री मोदीले ऐनको विषयमा यसअघि पूर्वप्रधानमन्त्री, मन्त्रालयका पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, पूर्वसचिव, विज्ञ, कर्मचारी संगठनका पदाधिकारीलगायतसँग छलफल गरिसकेका छन् ।