मेयर चौधरीद्वारा छरापटि स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



लहान । स्थानीय विपन्न र महिलाहरुको हितका लागि विभिन्न स्वास्थ्यमूलक सेवा नै मूल मुद्दाको रुपमा उठाईरहेको लहान नगरपालिकाले वडा नं. १९ स्थित छरापटि स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्डलगायतका सामाग्री उपलब्ध गराएको छ ।

नगरप्रमुख महेश चौधरीले मंगलबार स्थानीय विपन्नका साथै महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड, औषधी र अन्य उपकरण हस्तान्तरण गरेका छन् ।

मेयर चौधरीले आमा सुरक्षा कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टर सञ्चालन गर्ने उद्देश्यसहित १६ लाख ३७ हजार ३४४ रकम बराबरको ल्याबका सामानका साथै उक्त मेसिन हस्तान्तरण गरेको बताए ।

उक्त मेसिनबाट उक्त क्षेत्रमा रहेका महिला तथा बालबालिकाका साथै आम जनताको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने मेयर चौधरीले बताए ।

उक्त स्वास्थ्य चौकीका प्रमुख, वडा अध्यक्षको रोहबरमा मेयर चौधरीले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।