शोकमा डुब्यो विष्णुनगर, विमान दुर्घटनामा गुमायो एक कुशल छोरा…



कावासोती – पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ । यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ ।

विगत पाँच वर्षदेखि उनी कृषि ज्ञानकेन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रुपमा कार्यरत थिए। कृषि ज्ञान केन्द्र म्याग्दीमा कार्यरत कृषि प्रसार अधिकृत ३४ वर्षीय मोहनप्रकाश श्रेष्ठको विमान दुर्घटनामा निधन भएको हो । केन्द्रका प्रमुख किरण सिग्देलले सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको बताए ।

‘यात्रुको विवरण र सम्पर्क नम्बर मिलेको थियो,’ उनले भने, ‘उहाँको साथमा रहेका कागजात र शवको पहिचान भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको शव परीक्षणको पर्खाइमा छौँ ।’

नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा म्याग्दीमा सरुवा भएर गएका थिए । वि.स. २०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी आउनुअघि नवलपुरमा कार्यरत थिए ।

श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन् । शव आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको परिवारले जनाएको छ । श्रेष्ठको परिवारमा श्रीमती, एक छोरी र बुवाआमा छन् ।