टोखामा अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणका लागि क्षमता अभिवृद्धि कार्यक्रम



काठमाडौं । टोखा नगरपालिकाको मनोहरा माध्यमिक बिद्यालयमा बुधबार अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणका लागि वकालत पैरबी कौशल तथा बजेट अनुगमन सम्बन्धी क्षमता अभृवृद्वि कार्यक्रम सम्पन्न भएको छ । एबिलिस फाउण्डेशन फिन्ल्याण्डको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग पुनस्थापन केन्द्रले बुधवार टोखामा सो कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा एबिलिस फाउण्डेशनको नेपाल संयोजक डा वीरेन्द्रराज पोखरेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, नगरपालिकाकै महिला, बालबालिका तथा अपाङ्गता नागरिक शाखाकी अध्यक्ष सावित्रा न्यौपाने, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आर्चाय, राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपालका अध्यक्ष बालकृष्ण गैह्रे, राष्ट्रिय पुर्नस्थापन केन्द्रका अध्यक्ष रामप्रसाद ढुंगाना लगायत अपाङ्गता भएका नागरिक र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अधिकार मागेर नभएर संघर्ष मार्फत प्राप्त हुने बताए । उनले हिजोको तुलनामा अपाङगता भएका नागरिकलाई परिवार, समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आएको बताए । अधिकारीले टोखा नगरपालिका अपाङ्गता भएका नागरिकको अधिकार स्थापनाका लागि क्रियाशिल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थासँग समन्वय एवं सहकार्यका लागि उत्साहित रहदै आएको बताए । उनले टोखा नगरपालिकाले स्थानीय सरकारको रुपमा स्रोत र सामाथ्र्यले भयाएसम्म अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउन जनचेतना देखि सीपमूलक आय आर्जनका कार्यक्रम सञ्चालन गरिरहेको बताए । प्रमुख अधिकारीले टोखा नगरपालिकाभित्रका कुनै पनि नागरिक गरिव एवं अपाङ्गता भएकै आधारमा कुनैपनि खाले विभेदको शिकार नहुने र शिक्षाको जिम्मा नगरपालिकाले लिने समेत बताए ।

कार्यक्रममा एविलिस फाउण्डेशनका नेपाल संयोजक डा बीरेन्द्रराज पोखरेलले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको लागि भएृका संवैधानिक अवस्था, नीतिगत सवाल, ऐन,कानून निर्माण र त्यसको कार्यान्वयनमा देखिएका चुनौति र जटिलताका विविध आयामबारे कार्यपत्र प्रस्तुत गरेका थिए । पोखरेलले स्थानीय तहदेखिनै अपाङ्गता समावेशी विकासको अवधारणालाई अगाडि बढाउनुपर्ने उल्लेख गरे । दीगो विकास लक्ष्यको संकल्प पुरा गर्न अपाङ्गता समावेशी विकासको अवधारणलाई आत्मसात गर्नुको बिकल्प नरहेको पोखरेलले बताए । उनले अपाङ्गता भएका नागरिकको सामाजिक सुरक्षासँग जोडिनु मात्र राज्यको दायित्व नभएर राष्ट्र निर्माणको मूल प्रबाहमा उनीहरुको सम्मानजनक सहभागिताको सुनिश्चित्ता पनि राज्यले गनुपर्ने उल्लेख गरे ।

अपाङ्गता भएका नागरिकमाथि भएका विविध विभेदको चर्चा गर्दै पोखरेलले भौतिक रुपमा पहुँचयुक्तताको बिभेद, अवधारणागत विभेद, संस्थागत विभेद, सूचना प्रविधि लगायतका विभिन्न क्षेत्रमा विभेद रहेको बताए । उनले सबैखाले विभेद अन्त्यको लागि राज्य संवेदनशिल बन्दै ऐन, कानुनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा टोखा नगरपालिकाकी महिला,बालबालिका तथा अपाङगता शाखा हेर्ने शाखा प्रमुख साबित्रा न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकालाई अपाङ्गतामैत्री बनाउने सवालमा शाखा निरन्तर प्रयासमा रहेको बताईन । उनले नगरपालिकाले अपाङ्गता भएका नागरिक कामका लागि नगरपालिकासम्म आईपुग्न असमर्थ भएमा घरमै पुगेर पनि सेवा प्रवाह गरिरहेको बताईन । उनले दोभासेको अभावमा सेवा प्रवाहमा कहिलेकाही भने जटिलता उत्पन्न हुने गरेको उल्लेख गरिन । टोखा नगरपालिकामा अपाङ्गता भएका नागरिकको वास्तविक तथ्यांक संकलनको कार्य हुन नसकेको बताउँदै तथ्यांक संकलनदेखि आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका अपाङ्गता सम्बन्धि काम गरिरहेका ्संघसंस्थासँग हातेमालो गर्न तयार रहेको बताईन ।

एबिलिस फाउण्डेशन फिन्ल्याण्डले पहिलोचोटि नेपालमा एउटै परियोजना तीन वर्षसम्म सञ्चालनको अनुमति एवं अवसर प्रदान गरेको यो पहिलो परियोजना भएको फाउण्डेशनका नेपाल संयोजक डा वीरेन्द्रराज पोखरेलले बताए ।

कार्यक्रममा राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपालका अध्यक्ष बालकृष्ण गैह्रेले अपाङगता भएका नागरिकलाई समाजमा पुर्नस्थापित गर्ने सवालमा कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमको अध्यक्षता काठमाडौं सिबिआर संयोजक नवराज सापकोटाले गरेका थिए । राष्ट्रिय अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष रामप्रसाद ढुंगानाले कार्यक्रममा सहजीकरण गरेका थिए । परियोजना तीन वर्षसम्म टोखा नगरपालिकाभित्र सञ्चालन हुनेछ । परियोजनाले नगरपालिकामा अपाङ्गता भएका नागरिकको अवस्था, उनीहरुको लगत संकलन, आवश्यक्ता पहिचान, पुर्नस्थापनाका लागि शिक्षा, स्वास्थ्य, रोजगारी तथा आय आर्जन लागि नगरपालिकाको सम्बद्व शाखासँग समन्वय, क्षमता अभिवृद्वि, नेतृत्व विकास र नगरभित्रका जनप्रतिनिधीलाई अपाङगतामैत्री स्थानीय सरकारबारे प्रशिक्षण चलाउनेछ । त्यसैगरि अपाङगता भएका महिलालाई विभिन्न सीपमूलक प्रशिक्षण प्रदान गरेर उनीहरुले उत्पादन गरेका उत्पादनको बजारीकरणको प्रबन्ध गर्ने समेत परियोजनाको लक्ष्य रहेको छ ।