नवनिर्वाचित सांसदलाई आज बधाई दिँदै एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेले नवनिर्वाचित सांसदहरुको भेला गर्दैछ । आज मध्यान्ह १२ बजे काठमाडौंको प्रज्ञा भवन कमलादीमा कार्यक्रमको आयोजना गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भई निर्वाचन परिणाम आइसकेको सन्दर्भमा आज एमालेले  ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।

विजय, बधाई र उत्सवका रूपमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिनुका साथै सम्बोधन गर्नेछन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा लोकप्रिय मतमा पहिलो भएको एमालेबाट प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएका छन्।

आजको कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरूलाई आमन्त्रण गरिएको छ। यस्तै राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू–पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरूलाई पनि बोलाइएको छ।

यसैगरी प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसंगठनका थप तीनजना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको एमालेले  जनाएको छ।